सिंगापुरबाट फर्किएको एक महिना बितिसक्दा पनि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पार्टी सभापति गगन थापाबीच प्रत्यक्ष भेटवार्ता हुन सकेको छैन। सभापति थापाले पटक–पटक भेटका लागि समय मागे पनि देउवासँग संवाद हुन नसकेको कांग्रेस नेताहरूले बताएका छन्। दुई नेताबीच संवाद हुन नसक्दा नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनसमेत अलग–अलग रूपमा अघि बढ्ने सम्भावना बढेको छ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि सभापति थापाले भने अन्य नेताहरूसँग छलफललाई निरन्तरता दिइरहनुभएको छ।
थापाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग समेत पछिल्लो समय संवाद गरिरहेको बताइएको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले सिंगापुरबाट फर्किएपछि देउवासँग भेटका लागि पटक–पटक प्रयास गरे पनि समय नपाएको जानकारी गराउनुभएको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले देउवासँग प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै माध्यमबाट भेटको प्रयास गर्नुभएको थियो। उनका अनुसार सभापति थापाले पहिलोपटक भदौ १ गते देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरेर भेटको समय मिलाइदिन आग्रह गर्नुभएको थियो।
“दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नुभएको थियो, त्यसअघि पनि प्रयास भएको थियो,” पौडेलले भन्नुभयो, “विभिन्न व्यक्तिमार्फत पनि भेट्न खोज्नुभएको हो। तर संवाद हुन सकिरहेको छैन।” यता देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने थापाबाट जम्माजम्मी एक पटक मात्रै समय मागिएको दाबी गर्नुभएको छ। उहाँका अनुसार थापाले फोन गरेपछि आफूले मंगलबार भेटको समय मिलाउनका लागि पुनः फोन गर्नुभएको थियो।
“उहाँले अलि अगाडि एक पटक फोन गर्नुभएको हो। मैले मंगलबार समय मिलाउनका लागि फोन गरेको थिएँ, उहाँले राजधानीबाहिर छु भन्नुभयो,” भानुले भन्नुभयो, “फर्केपछि फोन गर्नुहोला, त्यसपछि मिलिहाल्छ भन्ने कुरा छ।” देउवा र थापाबीच भेटवार्ता नहुँदा पार्टीभित्रको विवाद समाधान तथा आगामी १५औँ महाधिवेशनको तयारीमा समेत असर पर्न सक्ने कांग्रेस नेताहरूको आकलन छ। दुई नेताबीच प्रत्यक्ष संवाद कहिले हुन्छ भन्ने विषयमा भने अझै स्पष्टता छैन।