कृत्रिम बुद्धिमत्ता (एआई) को क्षमता तीव्र गतिमा विस्तार भइरहेका बेला यसले भविष्यमा मानवजातिको अस्तित्वमै जोखिम निम्त्याउन सक्ने बहस फेरि चर्किएको छ। एआई कम्पनी एन्थ्रोपिकका पूर्वशोधकर्ता ज्याकब कक्सनले भविष्यमा अत्यधिक सक्षम एआई प्रणाली मानवजातिका लागि गम्भीर खतरा बन्न सक्ने चेतावनी दिएका छन् ।
एन्थ्रोपिकबाट हालै अलग भएका २७ वर्षीय कक्सनले सामाजिक सञ्जाल एक्समार्फत एआई विकासको वर्तमान दिशाप्रति आफू गम्भीर रूपमा चिन्तित रहेको बताएका हुन्। उनका अनुसार एआई विकासमा संलग्न कम्पनीहरू मानिसभन्दा अत्यधिक सक्षम हुने ‘सुपरइन्टेलिजेन्स’ निर्माणतर्फ तीव्र गतिमा अघि बढिरहेका छन् । कक्सनका अनुसार भविष्यमा एआई प्रणालीले आफ्नै क्षमतामा निरन्तर सुधार गर्न सक्ने अवस्था सिर्जना भयो भने त्यसलाई मानिसले नियन्त्रणमा राख्न सक्ने वा नसक्ने प्रश्न निकै महत्वपूर्ण बन्नेछ ।
कक्सन २७ वर्षीय एआई शोधकर्ता हुन्। उनले पछिल्ला तीन वर्षमा ओपनएआई र एन्थ्रोपिक दुवै कम्पनीमा ‘प्रि–ट्रेनिङ’ अनुसन्धानमा काम गरेका थिए। प्रि–ट्रेनिङ भनेको ठूलो मात्रामा डेटा प्रयोग गरेर एआई मोडललाई प्रारम्भिक रूपमा तालिम दिने प्रक्रिया हो। यसमार्फत एआई प्रणालीले भाषा, तर्क, ढाँचा पहिचान तथा विभिन्न प्रकारका सूचना प्रशोधन गर्ने क्षमता विकास गर्छ।कक्सनले भविष्यका अत्यधिक सक्षम एआई प्रणालीले मानिसभन्दा जटिल काम गर्न, साइबर प्रणालीमा पहुँच बनाउन, विभिन्न क्षेत्रमा तीव्र परिवर्तन ल्याउन तथा वास्तविक संसारका स्रोत र शक्तिसम्म पहुँच विस्तार गर्न सक्ने सम्भावना औँल्याएका छन्।


उनका अनुसार एआई क्षेत्रमा काम गरिरहेका केही व्यक्तिले निजी रूपमा नै यो दशकको अन्त्यअघि एआईले मानवजातिका लागि अत्यन्त गम्भीर जोखिम निम्त्याउन सक्ने सम्भावनालाई लिएर चिन्ता व्यक्त गरिरहेका छन् । यद्यपि, एआईले मानवजातिको अस्तित्व समाप्त पार्न सक्ने क्षमता हासिल गरिसकेको प्रमाण हालसम्म छैन। कक्सनको चेतावनी भविष्यमा विकसित हुन सक्ने एआईको क्षमता र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमको मूल्याङ्कनमा आधारित छ। एआईको विकाससँगै यसको सुरक्षित प्रयोग, मानव नियन्त्रण र नियमनबारे विश्वभर बहस बढिरहेका बेला कक्सनको चेतावनीले भविष्यमा एआई विकासलाई कसरी सुरक्षित र जिम्मेवार बनाउने भन्ने प्रश्नलाई थप चर्चामा ल्याएको छ।