राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, सिरहा पुगेका चार जना ज्येष्ठ नागरिकले दिनभर कुर्दासमेत सेवा नपाएपछि प्रशासन कार्यालय आसपासमै रात बिताउन बाध्य भएका छन् । सुखीपुर नगरपालिका–८ का सुकन पण्डित, कल्पना पण्डित तथा कल्याणपुर नगरपालिका–४ का महन्थी ठाकुर र अतर देवी साह बिहीबार बिहानै राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए। दिनभर कार्यालयमा पालो पर्खिए पनि उनीहरूको नम्बर नआएपछि त्यस दिन परिचयपत्र बनाउने काम हुन सकेन।
कार्यालयका कर्मचारीले उनीहरूलाई शुक्रबार बिहानै करिब ६ बजेदेखि लाइनमा बस्नुपर्ने बताएपछि पालो छुट्ने डरले चारै जना घर नफर्की प्रशासन कार्यालयको गेटनजिकै बसेका हुन्। उनीहरूले निजी घरबाहिर राखिएको खाटमा खुला आकाशमुनि रात बिताउनुपरेको छ।
बिहान खाना नखाई गाउँबाट आएका उनीहरूले दिउँसो चिउरा र चिनी किनेर खाएका थिए। साँझ भने खानेकुराको समेत व्यवस्था नभएको उनीहरूको भनाइ छ। राष्ट्रिय परिचयपत्र बनाउन गाउँबाट ऋण तथा सरसापट गरेर आएको र बसाइ तथा खानपानका लागि समेत थप खर्च जुटाउन कठिन भएको उनीहरूले बताएका छन्। ज्येष्ठ नागरिक भएका कारण लामो समयसम्म लाइनमा उभिन तथा बस्न समस्या हुने भए पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले बाध्य भएर यस्तो दुःख सहनुपरेको उनीहरूको गुनासो छ।
राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा लिन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बैंकिङ कारोबार गर्न तथा अन्य प्रशासनिक काममा समस्या हुने गरेको उनीहरू बताउँछन् । त्यसैले परिचयपत्र बनाउनकै लागि टाढाबाट प्रशासन कार्यालय पुगेर घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। ज्येष्ठ नागरिक तथा अशक्त सेवाग्राहीका लागि सहज र प्राथमिकताका साथ सेवा उपलब्ध गराउनुपर्ने भए पनि सिरहामा भने उनीहरूले रातसमेत कार्यालय परिसर आसपासमै बिताउनुपर्ने अवस्था देखिएको छ।