शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा कृषि तथा इन्जिनियरिङ क्याम्पस सञ्चालनमा ल्याउन मन्त्रालयले अध्ययन गरिरहेको बताउनुभएको छ ।
सिरहाको लहानमा रहेको जेएस मुरारका बहुमुखी क्याम्पसको बिहीबार बिहान अनुगमन तथा निरीक्षण गर्दै मन्त्री पोखरेलले मधेशमा कृषि र इन्जिनियरिङ शिक्षाको विस्तार आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा कृषि र इन्जिनियरिङ संकाय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको पर्याप्त सम्भावना रहेको छ । राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर ती संकाय सञ्चालन गर्न आफूले पहल गर्ने उहाँले बताउनुभयो ।
“मधेश प्रदेशको शिक्षाको अवस्था कमजोर छ । यही विषयमा अध्ययन गर्न म मधेश प्रदेशको भ्रमणमा आएको हुँ,” मन्त्री पोखरेलले भन्नुभयो, “शिक्षक, अभिभावक र विद्यार्थीसँग अन्तरसंवाद गरी प्राप्त सुझावका आधारमा समस्या समाधान गर्न शिक्षा ऐन ल्याउने तयारीमा छौँ ।”
मन्त्री पोखरेलले लहान नगरपालिका–१४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरको समेत निरीक्षण गर्नुभएको थियो। विसं २००४ सालमा स्थापना भएको उक्त विद्यालयलाई समयानुकूल विज्ञान तथा प्रविधियुक्त र सुविधा सम्पन्न बनाउँदै पुरानो शैक्षिक प्रतिष्ठा फर्काउनुपर्ने उहाँले बताउनुभयो ।
सिरहा–१ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताको पहलमा यस क्षेत्रका पुराना विद्यालयको स्तरोन्नतिका लागि काम भइरहेको मन्त्री पोखरेलले बताउनुभयो । दक्षिणी क्षेत्रमा रहेको भगवानपुर गाउँपालिकाको हनुमान शारदा माध्यमिक विद्यालय इनर्वा र लहान–१४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालयलाई स्तरीय बनाउने योजनामा सरकारको सहयोग रहने उहाँको भनाइ छ ।
सांसद बब्लु गुप्ताले आफ्नो निर्वाचन क्षेत्रका पुराना विद्यालयलाई आधुनिक र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले हनुमान शारदा माध्यमिक विद्यालय इनर्वा र श्री बस्तीपुर माध्यमिक विद्यालयको स्तरोन्नति आफ्नो चुनावी प्रतिबद्धताअनुसार अघि बढाइएको बताउनुभयो ।
“यी दुई विद्यालय मात्रै होइन, सखुवानन्कारकटि र लक्ष्मीपुर पतारी क्षेत्रमा समेत शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने योजना छ,” सांसद गुप्ताले भन्नुभयो ।
मन्त्री पोखरेलको लहान भ्रमणका क्रममा उच्च शिक्षा विस्तार, विद्यालयको भौतिक तथा शैक्षिक सुधार र मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच बढाउने विषयमा समेत छलफल भएको थियो ।