नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मधेश र मधेशी जनतामाथि सबैभन्दा बढी प्रहार गरेको आरोप लगाएका छन् ।
सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किने क्रममा शुक्रबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले मधेशका जनताले ठूलो आशा र अपेक्षा गरेको शक्तिलाई सरकारमा ल्याए पनि मधेशी जनताले झन् पीडा भोग्नुपरेको दाबी गरे । उनले सीमापारिबाट सामान ल्याउँदा कर लगाउनेदेखि आफ्नो भूमि र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सीमामा खडा हुने मधेशी जनतालाई समेत सरकारले अपमान गरेको आरोप लगाए ।
‘राष्ट्रिय स्वाधीनताको रक्षा बोर्डरमा बसेर मधेशी जनताले गरे पनि भारतले नेपालको भूमि मिचेको विषयलाई लिएर मधेश र मधेशीमाथि नै प्रहार गर्ने काम भएको छ,’ प्रचण्डले भने । मधेशमा आएर कुनै पहाडीले यहाँको सीमामा जग्गा अतिक्रमण नगरेको र रक्षा पनि नगरेको उल्लेख गर्दै उनले मधेशी जनताले आफ्नै भूमि आफैं जोगाउँदै आएको बताए। नयाँ सरकार गठन भएको करिब ६ महिनामै जनताले सरकारका कामकारबाहीबारे धेरै कुरा महसुस गर्न थालेको उनको दाबी थियो ।
स्थापित राजनीतिक दललाई गलत भाष्य निर्माण गरी बदनाम गरेर बाहिर राख्दा त्यसको परिणाम के हुँदो रहेछ भन्ने जनताले बुझ्न थालेको प्रचण्डले बताए । नयाँ सरकार बनेपछि सबैभन्दा पहिले गरिब, मजदुर र किसानमाथि प्रहार भएको आरोप लगाउँदै उनले सीमाबाट सामान ल्याउने नागरिकदेखि मधेशी जनताको भावनामाथि समेत सरकारले प्रहार गरेको बताए ।
प्रधानमन्त्री बालेन्द्र साहप्रति इंगित गर्दै प्रचण्डले मधेशी जनताले ‘मधेशी बच्चा भएकाले मधेशका लागि केही गर्छ’ भन्ने अपेक्षा गरे पनि व्यवहारमा त्यसको ठीक उल्टो भएको बताए।
‘मधेशी जनताले मधेशी बच्चा भएकाले मधेशका लागि केही गर्छ भन्ने लागेको थियो। तर सबैभन्दा बढी प्रहार मधेश र मधेशीमाथि नै भएको छ,’ उनले भने।
सरकारले ल्याएको बजेटले समेत मधेशप्रतिको विभेद पुष्टि गरेको प्रचण्डको आरोप थियो। सरकारको कार्यशैलीप्रति मधेशी जनता आजित भइसकेको भन्दै उनले अब उनीहरू चुप लागेर बस्ने अवस्थामा नरहेको दाबी गरे।
विगतमा आफू मधेशबाट निर्वाचन लडेको स्मरण गर्दै प्रचण्डले मधेशी जनताको मनोभाव आफूले नजिकबाट बुझेको बताए।
सिरहामा ३५ वटा विद्यालयका विद्यार्थी सहभागी विज्ञान प्रदर्शनीमा किशोर तथा युवामा देखिएको उत्साह र राजनीतिक चेतनाले आफूलाई मधेशबाटै सरकारविरुद्ध विद्रोह उठ्न सक्ने संकेत दिएको उनको भनाइ थियो।
‘मधेशी जनता चेतनशील र संघर्षशील जनता हुन्। गलत नीति र क्रियाकलापविरुद्ध उनीहरू फेरि उत्रिन सक्छन्,’ उनले भने।
जेन–जी पुस्ताका किशोर तथा युवासमेत सरकारको कार्यशैलीप्रति असन्तुष्ट भएर विद्रोहमा उत्रिरहेको प्रचण्डले दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले समेत सरकारको विरोध गर्न थालेको उल्लेख गर्दै उनले सरकारविरुद्धको आन्दोलन मधेशबाटै सुरु हुन सक्ने ठोकुवा गरे।
यसैबीच, भोटेकोशी नदीमा आएको बाढी तथा विपत्तिको उद्धारमा समेत सरकार असफल भएको प्रचण्डले आरोप लगाए। विपत्तिको सुरुवाती पाँच दिनमै विज्ञहरूको सहयोगमा गम्भीरतापूर्वक उद्धार अभियान सञ्चालन गरिएको भए धेरैको ज्यान जोगाउन सकिने उनको दाबी थियो।
१३औँ दिनसम्म पनि जीवित व्यक्ति फेला परेको उल्लेख गर्दै उनले उद्धार कार्यमा सरकार गम्भीर हुन नसकेको आरोप लगाए। भोटेकोशी प्रलयको कारण र समाधानबारे वैज्ञानिक अध्ययन भइरहेको बताउँदै उनले जलवायु परिवर्तनका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढिरहेको बताए।
विकसित मुलुकका कारण उत्पन्न जलवायु परिवर्तनको असर तल्लो तटीय क्षेत्रमा बढी परेको भन्दै उनले ‘क्लाइमेट जस्टिस’को विषयमा आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताए।
मधेशमा अहिले पहाडी क्षेत्रका जनताको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले विपत्तिका बेला एकअर्कालाई सहयोग गर्ने परम्परालाई निरन्तरता दिन आग्रह गरे।
‘पहाडमा पीडा हुँदा मधेशले सहयोग गरेको छ र मधेशमा पीडा हुँदा पहाडले सहयोग गरेको छ। यो परम्परा सकारात्मक छ,’ उनले भने।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहितका नेताहरूले जनकपुरधाम विमानस्थलमा स्वागत गरेका थिए। उनी बिहीबार सिरहामा र शुक्रबार महोत्तरीमा आयोजित पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए।
भिडियाे रिपाेर्ट