जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति र जोखिम व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय रूपमा ‘क्लाइमेट जस्टिस’ (जलवायु न्याय) को मुद्दा सशक्त रूपमा उठाउनुपर्ने बताएका छन् ।
शुक्रबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि त्यसको असर नेपालले ठूलो मात्रामा भोगिरहेको बताए । नेपालजस्ता न्यून योगदान गर्ने मुलुकले व्यहोर्नुपरेको क्षति, जोखिम र विपत्तिलाई अन्तर्राष्ट्रिय समुदायले न्यायोचित रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।
पछिल्ला प्राकृतिक विपत्तिका घटनाहरू जलवायु परिवर्तनसँग जोडिएको उल्लेख गर्दै दाहालले नेपालले आफ्ना समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए ।
यसैबीच, दाहालले वर्तमान सरकारको कार्यशैली अहंकारी र गैरजिम्मेवार देखिएको आरोप लगाउँदै सरकारका गलत नीति तथा क्रियाकलापविरुद्ध जनस्तरबाट प्रतिरोध बढ्ने दाबी गरे। यस्तो प्रतिरोधको महत्वपूर्ण आधार मधेश बन्न सक्ने उनको भनाइ थियो ।
“वर्तमान सरकार अहिलेको परिस्थितिप्रति जिम्मेवार ढङ्गले प्रस्तुत भएको देखिएको छैन। सरकारको रवैया अहंकारी देखिएको छ। यसको प्रतिरोधमा मधेशबाट पनि सङ्घर्ष उठ्ने सम्भावना छ,” उनले भने ।
दाहालले सरकार जनताका समस्या समाधान गर्नुभन्दा स्थापित राजनीतिक दलहरूलाई बदनाम गर्ने र गलत भाष्य निर्माण गर्ने दिशामा अघि बढेको आरोप लगाए । स्थापित राजनीतिक दलहरूलाई विभिन्न गलत भाष्यमार्फत बदनाम गरिँदाको परिणाम अहिले देखिन थालेको उनको दाबी थियो ।
मधेशका जनताले नयाँ सरकारबाट ठूलो अपेक्षा गरे पनि सरकारको पहिलो प्रहार नै मधेशका गरिब जनतामाथि परेको आरोपसमेत दाहालले लगाए ।
“मधेशका जनताले नयाँ सरकारले केही नयाँ गर्छ भन्ने अपेक्षा गरेका थिए, तर सरकारको पहिलो प्रहार नै मधेशका गरिब जनतामाथि भएको छ,” उनले भने।
सीमा तथा जमिनसम्बन्धी विषयमा सरकारले दिएको अभिव्यक्तिले मधेशका जनताको भावनामा चोट पुर्याएको दाहालको टिप्पणी थियो ।
“सीमामा पहाडबाट गएर जनता बसेका होइनन्। पुस्तौँदेखि त्यहीँका जनता बस्दै आएका छन्। यस्ता अभिव्यक्तिले मधेशका जनताको भावनामा चोट पुर्याउँछ,” उनले भने ।
वर्तमान सरकारको बजेटसमेत मधेशप्रति न्यायोचित नभएको आरोप लगाउँदै दाहालले बजेट विनियोजन तथा सरकारका पछिल्ला गतिविधिमा मधेशप्रति विभेद देखिएको दाबी गरे ।
सरकारका गलत नीति र निर्णयविरुद्ध जनस्तरबाट प्रतिरोध बढ्दै जाने दाबी गर्दै उनले त्यसका लागि मधेश महत्वपूर्ण आधार बन्न सक्ने बताए ।
संसद्मा नेकपाको भूमिका प्रतिपक्षको जस्तो नदेखिएको भन्ने पत्रकारहरूको प्रश्नमा दाहालले प्रतिपक्षी दलहरू एकढिक्का भएर सरकारका गतिविधिमाथि खबरदारी गरिरहेको दाबी गरे । आगामी दिनमा प्रतिपक्षको भूमिका अझ सशक्त बनाइने उनले बताए ।