दुबई | यमनको रियादसमर्थित सरकारी फौजले रणनीतिक महत्वको लाल सागर तटीय सहर मोचामा इरानसमर्थित हुथी लडाकुविरुद्ध सैन्य कारबाही तीव्र पारेको छ ।
सरकारी फौजले मोचा बन्दरगाह आसपास हुथी लडाकुका सवारीसाधन तथा हतियार नष्ट गरेको र केही लडाकु मारिएको दाबी गरेको छ । सरकारी समाचार संस्था साबाका अनुसार सरकारी फौजले मोचाबाट करिब ११ किलोमिटर टाढा रहेको मोचा–धुबाब सडकमा समेत हुथी लडाकुका सवारीसाधन र सदस्यलाई लक्षित गरी आक्रमण गरेको छ ।
सरकारी फौजका प्रवक्ता माजिद अब्दुल्लाह अल–नाजिलीले मोचाका विभिन्न क्षेत्रमा शुक्रबारदेखि गोलाबारी भइरहेको जानकारी दिँदै सर्वसाधारणलाई ताइज–मोचा र मोचा–धुबाब सडक प्रयोग नगर्न आग्रह गरेका छन् ।
हुथी लडाकुले बिहीबार मोचामाथि नियन्त्रण कायम गरेको दाबी गरिएको छ । उनीहरूको आक्रमणपछि ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा विस्थापित भएर अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको मुख्यालय रहेको एडेन पुगेका छन् ।
यसैबीच, हुथीसमर्थित सञ्चारमाध्यमले साउदी नेतृत्वको गठबन्धनले मोचा विमानस्थलमा दुई वटा हवाई आक्रमण गरेको जनाएको छ । स्थानीय अधिकारीका अनुसार मोचा समुद्री बन्दरगाहमा समेत अज्ञात स्रोतबाट छ वटा क्षेप्यास्त्र प्रहार भएका छन् ।
दुवै पक्षका स्रोतका अनुसार पछिल्लो एक सातादेखि जारी हुथी आक्रमण र त्यसपछिको सैन्य कारबाहीमा ५०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायका अनुसार हिंसाका कारण करिब ४६ हजार मानिस विस्थापित भएका छन् ।
मोचा लाल सागरको महत्वपूर्ण तटीय क्षेत्र तथा बाब अल–मान्दब जलसन्धिको नजिक रहेकाले पछिल्लो संघर्षले क्षेत्रीय सुरक्षा र व्यापारिक मार्गमा समेत असर पार्न सक्ने चिन्ता बढेको छ ।
यमनमा जारी यो संघर्ष सन् २०१४ मा हुथी विद्रोहीले राजधानी साना नियन्त्रणमा लिएपछि सुरु भएको गृहयुद्धकै निरन्तरता हो। पछिल्लो समय पुनः बढेको हिंसाले यमनको मानवीय संकटलाई थप गम्भीर बनाउने आशङ्का गरिएको छ ।