भारतबाट अवैध रूपमा बोइलर कुखुरा भित्रिने क्रम बढेको भन्दै रौतहटका कुखुरापालक किसान तथा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । खुला सीमाको फाइदा उठाउँदै सस्तो मूल्यमा भारतीय कुखुरा नेपाल भित्रिँदा स्थानीय किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको उनीहरूको गुनासो छ । जिल्ला कुखुरा व्यावसायिक किसान सङ्घका अनुसार रामपुरखाप, बङ्कुल, नरकटिया, खापघिउरा, मत्सरीलगायत सीमावर्ती क्षेत्रका नाकाबाट दैनिक ठूलो परिमाणमा भारतीय कुखुरा नेपाल भित्रिने गरेको दाबी गरिएको छ ।

किसानका अनुसार सीमाबाट अवैध रूपमा भित्र्याइएका कुखुरालाई सीमा क्षेत्रका नेपाली फार्ममा राखेर स्वदेशमै उत्पादन भएको देखाउने गरी बिल तयार पार्ने र विभिन्न बजारमा बिक्रीका लागि पठाउने गरिएको छ । यसबाट वैधानिक रूपमा कुखुरा उत्पादन तथा बिक्री गर्दै आएका किसान प्रत्यक्ष प्रभावित भएको उनीहरूको भनाइ छ । जिल्ला कुखुरा व्यावसायिक किसान सङ्घका सचिव राधेश्याम साहले दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको मूल्य बढ्दा नेपालमा कुखुरा उत्पादनको लागतसमेत बढेको बताउनुभयो । उहाँका अनुसार हाल प्रतिकिलो कुखुरा उत्पादनमा करिब २६० देखि २७० रुपैयाँसम्म लागत लाग्ने गरेको छ ।
भारतीय कुखुरा तुलनात्मक रूपमा सस्तो मूल्यमा बजारमा आउँदा नेपाली किसानले उत्पादन लागतसमेत उठाउन कठिन भइरहेको साहको भनाइ छ । उहाँले क्वारेन्टाइन तथा स्वास्थ्य परीक्षणबिनै कुखुरा भित्र्याउँदा पशुपन्छीमा रोग फैलिने जोखिमसमेत बढेको बताउनुभयो । अवैध आयात नियन्त्रणको माग गर्दै किसानले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, धर्ना तथा अनशनलगायतका आन्दोलनसमेत गर्दै आएका छन् । तर समस्या समाधान हुन नसकेको भन्दै उनीहरूले सीमावर्ती क्षेत्रमा निगरानी बढाउन र अवैध कारोबारमा संलग्नमाथि कारबाही गर्न माग गरेका छन् ।
चन्द्रपुर नगरपालिका–६ का कुखुरा व्यवसायी सुशील केसीले अवैध रूपमा कुखुरा भित्र्याउने कार्यको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार अवैध आयातका कारण किसान र व्यवसायी दुवैको लगानी जोखिममा परेको छ । यसैबीच, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले सीमा क्षेत्रको वास्तविक अवस्था बुझेर अवैध कुखुरा आयात नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनुभएको छ ।
किसानहरूले सीमा क्षेत्रमा नियमित अनुगमन, कुखुराको क्वारेन्टाइन तथा स्वास्थ्य परीक्षणमा कडाइ र अवैध आयातमा संलग्नमाथि प्रभावकारी कारबाही हुनुपर्ने माग गरेका छन् ।