विश्वको ध्यान तानिरहेको ब्रिक्स शिखर सम्मेलन भारतको नयाँदिल्लीमा जारी छ ।
सम्मेलनको पहिलो दिन सदस्य राष्ट्रहरूले ४५ पृष्ठ लामो तथा १४० बुँदा समेटिएको ‘नयाँदिल्ली घोषणापत्र’ सार्वजनिक गरेका छन् । घोषणापत्रमा अन्तर्राष्ट्रिय राजनीतिदेखि सुरक्षा, आतंकवाद, आर्थिक सहकार्य तथा विभिन्न क्षेत्रीय विषयसम्मलाई समेटिएको छ । भारत, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिकासहित ११ सदस्य राष्ट्र रहेको ब्रिक्सले केही संवेदनशील अन्तर्राष्ट्रिय मुद्दामा आफ्नो धारणा स्पष्ट पारेको छ ।
घोषणापत्रमा भारतसँग प्रत्यक्ष जोडिएको जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलालाई समेत समेटिएको छ । सन् २०२५ अप्रिल २२ मा पहलगाममा भएको उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।
ब्रिक्स राष्ट्रहरूले पहलगाम हमलाको निन्दा गर्दै आतंकवादविरुद्ध सामूहिक प्रयासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आतंकवादलाई आर्थिक सहयोग गर्ने, सीमापार आतंकवादी गतिविधि सञ्चालन गर्ने तथा आतंकवादीलाई सुरक्षित आश्रय उपलब्ध गराउने कार्यविरुद्ध सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रले आतंकवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समुदायसँग जोडेर हेर्न नहुने स्पष्ट पारेको छ । आतंकवादी गतिविधिमा संलग्न व्यक्ति तथा त्यस्ता गतिविधिलाई सहयोग गर्ने पक्षलाई कानुनी रूपमा जवाफदेही बनाउनुपर्नेमा पनि सदस्य राष्ट्रहरूले जोड दिएका छन् ।
युवामाझ बढ्दो कट्टरपन्थ र अतिवाद नियन्त्रणका लागि सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै ब्रिक्सले आतंकवादविरुद्ध ‘शून्य सहनशीलता’को नीति अपनाउन आह्वान गरेको छ । आतंकवादविरुद्धको अन्तर्राष्ट्रिय प्रयासमा दोहोरो मापदण्ड अपनाउन नहुने धारणा पनि घोषणापत्रमा समेटिएको छ । संयुक्त राष्ट्रसंघको सूचीमा रहेका आतंकवादी व्यक्ति तथा संगठनविरुद्ध प्रभावकारी कारबाही गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरिएको छ ।
घोषणापत्रले आतंकवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा समेत जोड दिएको छ ।
भिडियाे रिपाेर्ट