ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिएका छन्।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपत् जोखिम न्यूनीकरणका लागि मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने विषयमा गृहकार्य अघि बढाएको जानकारी दिए।
उनका अनुसार जोखिममा रहेका हिमतालको पानी वैज्ञानिक विधिबाट निकास गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने विषयमा छलफल भइरहेको छ। ‘जोखिममा रहेका हिमतालमा ब्लास्टिङ गरेर जलसतह घटाउने गरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले निकास गरेर जोखिममुक्त गर्नैपर्छ। विपत् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौँ। तयारी सकिएपछि निर्णय लिन्छौँ,’ उनले भने।
मन्त्री श्रेष्ठले कुन–कुन हिमतालको जलस्तर घटाउने भन्ने विषयमा भने अझै टुंगो लागिनसकेको जानकारी दिए। विज्ञहरूसँग परामर्श भइरहेको र विभिन्न हिमतालको नाम विज्ञहरूले सुझाएको उनको भनाइ छ।
‘विज्ञहरूसँग परामर्श लिँदै छौँ। छलफलमा धेरै तालको नाम विज्ञहरूबाट आएको छ। अध्ययन गरिरहेका छौँ। जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौँ,’ उनले भने।
मन्त्री श्रेष्ठका अनुसार ग्रिन क्लाइमेट फन्ड जिसिएफबाट प्राप्त सहयोग परिचालन गरी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँगको सहकार्यमा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने काम यही वर्ष अघि बढाइनेछ।
इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन्। तीमध्ये कोशी र गण्डकी क्षेत्रमा चारवटा हिमताल अति उच्च जोखिममा रहेका छन्।