अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि अमेरिकामा रहेका नेपालीमाथि पनि कडा आप्रवासन नीतिको प्रभाव परेको छ ।
ट्रम्प प्रशासनले अवैध रूपमा बसोबास गर्ने तथा अमेरिकी कानुन उल्लङ्घन गर्ने आप्रवासीलाई निष्कासन गर्ने अभियान तीव्र बनाएसँगै नेपालीहरू पनि डिपोर्ट हुन थालेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता हालसम्म ७६० जना नेपाली अमेरिकाबाट निष्कासन भएर नेपाल फर्किएका छन् । तीमध्ये ३७ जना महिला रहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुका अनुसार सन् २०२५ जनवरी २० पछि मात्रै ७६० जना नेपाली डिपोर्ट भएर नेपाल आएका हुन् ।
अमेरिकाबाट डिपोर्ट भएर फर्किएका नेपालीमध्ये केहीले आफूलाई गैरकानुनी रूपमा अमेरिका पठाउने गिरोहविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। ब्यूरोका अनुसार हालसम्म अमेरिका पठाउने गिरोहविरुद्ध ९ वटा जाहेरी दर्ता भई अनुसन्धान भइरहेको छ ।
पछिल्लो आठ आर्थिक वर्षको तथ्याङ्क हेर्दा अमेरिकाबाट नेपाल डिपोर्ट हुने नेपालीको सङ्ख्या ९८६ पुगेको छ। यसमध्ये ठूलो हिस्सा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि देखिएको ब्यूरोको तथ्याङ्कले देखाउँछ। डिपोर्ट भएर आउने नेपालीमा भिजिट भिसामा अमेरिका पुगेपछि उतै लुकेर बसेका तथा अवैध बाटो हुँदै अमेरिका प्रवेश गरेका व्यक्तिहरू धेरै रहेको प्रहरीको भनाइ छ।
यसै क्रममा अमेरिकामा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका नेपालीसमेत डिपोर्टमा परेका छन्। २०८२ पुसमा अमेरिकाको स्थायी बसोबास अनुमति (पीआर) पाएर करिब ३० वर्षदेखि त्यहाँ बस्दै आएका एक नेपालीलाई पीआर नवीकरण नभएपछि अमेरिकी सरकारले निष्कासन गरी नेपाल पठाएको ब्यूरोले जनाएको छ ।
एकैपटक ७५ जनासम्म नेपाली डिपोर्ट भएर नेपाल फर्किएको घटना पनि ब्यूरोको तथ्याङ्कमा उल्लेख छ। अमेरिकाले डिपोर्ट गरिएका नेपालीलाई चार्टर्ड विमानमार्फत नेपाल पठाउने गरेको छ। यद्यपि, चार्टर्ड विमानबाहेक नियमित व्यावसायिक उडानबाट पनि डिपोर्ट गरिएका नेपालीहरू नेपाल आउने गरेका छन्। २०८२ असारमा अमेरिकाको एरिजोना र हवाईबाट एकैदिन ओम्नी एयर इन्टरनेसनलको चार्टर्ड विमानमार्फत ३७ जना नेपाली नेपाल फर्किएका थिए ।
प्रहरीका अनुसार अमेरिकाबाट डिपोर्ट भएर आउनेमध्ये केही व्यक्ति मानव तस्करी तथा गैरकानुनी रूपमा विदेश पठाउने गिरोहको प्रलोभनमा परेर अमेरिका पुगेका हुन्छन् । डिपोर्टपछि मात्रै आफू ठगी वा मानव तस्करीको सिकार भएको भन्दै प्रहरीमा उजुरी दिनेहरू पनि छन् ।
ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीति थप कडा बनाएपछि अमेरिकाबाट नेपाली नागरिकको डिपोर्ट हुने क्रम अझै रोकिएको छैन । यसले गैरकानुनी बाटो तथा जोखिमपूर्ण प्रक्रियाबाट अमेरिका जाने नेपालीका लागि थप चुनौती सिर्जना गरेको छ ।