प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सञ्चारमाध्यमप्रति असहिष्णु देखिएको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ तथा छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरूले सञ्चार क्षेत्रको समस्याबारे ध्यानाकर्षण गराउँदै पत्र बुझाएपछि ओलीले सरकारको कार्यशैलीप्रति टिप्पणी गरेका हुन् । उनले वर्तमान सरकारलाई व्यंग्यात्मक रूपमा ‘छापा–मार’ सरकारको संज्ञा दिँदै सञ्चारमाध्यमलाई अप्ठ्यारो पार्ने गरी गतिविधि भइरहेको बताए ।
“मैले देख्दा त अहिलेको सरकार ‘छापा–मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन–छापा, मार् सरकार । त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो,” ओलीले भने । प्रतिनिधिहरूले लोककल्याणकारी विज्ञापन कटौती, सञ्चार बजारमा देखिएको मन्दी तथा सरकारी बेवास्ताका कारण छापा सञ्चारमाध्यमले भोगिरहेको समस्याबारे ओलीलाई जानकारी गराएका थिए ।
जवाफमा ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक रहेको उल्लेख गर्दै सञ्चारमाध्यममाथि हुने प्रहारले समग्र लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने बताए। स्वतन्त्रताविरोधी तथा प्रतिगामी कदम लामो समय टिक्न नसक्ने उनको दाबी थियो। उनले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै राणा शासन, पञ्चायती व्यवस्था र तत्कालीन राजा ज्ञानेन्द्रको कदमको उदाहरण दिए ।
“१०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ ६३ सम्म पुग्दा अन्त्य भयो,” ओलीले भने, “त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन् ।”
आन्दोलनरत पत्रकारहरूलाई हरेस नखान आग्रह गर्दै ओलीले आफ्नो अधिकारका लागि निरन्तर आवाज उठाउनुपर्ने बताए। उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितांश ‘नलडी कोही हुन्न विजेता’ स्मरण गर्दै संघर्षबाट पछि नहट्न पत्रकारहरूलाई आग्रह गरे। “तपाईँहरूले सम्झौता गर्नुभयो वा पछि हट्नुभयो भने अधिकार पाइँदैन । त्यसैले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस्,” उनले भने।
ओलीले एमाले र आफू व्यक्तिगत रूपमा पनि लामो समयदेखि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदै आएको दाबी गरे। छापा सञ्चारमाध्यमको संरक्षणका लागि आफ्नो पार्टीको पूर्ण समर्थन रहेको उनले बताए। छापा माध्यम ऐतिहासिक तथा तथ्यपूर्ण दस्ताबेजका रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले डिजिटल माध्यमको विस्तार भए पनि यसको महत्त्व कम नहुने धारणा राखे ।
कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पार्टीका प्रमुख सचेतक तथा सांसदहरूको समेत उपस्थिति थियो। ओलीले संसद् बैठक सुरु भएपछि सञ्चार क्षेत्रका समस्या, लोककल्याणकारी विज्ञापनलगायतका विषय पार्टीका तर्फबाट संसद्मा जोडदार रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।