सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–८ का विभिन्न बस्तीमा स्यालले आतंक मच्चाउँदा ६ जना मानिस र करिब २५ वटा पशुचौपाया घाइते भएका छन् ।
हरिवन–८ को चापिनी, आपडाँडा, स्कुलटोल र जिम्दार चोकमा एउटै स्यालले टोकेर ६ जना घाइते भएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्यालको टोकाइबाट ३० वर्षीया अर्पना कोइराला, ३४ वर्षीया विमला तामाङ, २१ वर्षीय प्रशान्त उप्रेती, ६५ वर्षीय तिलबहादुर मगर, ७१ वर्षीय मनबहादुर थामी र ६६ वर्षीय देवराम मगर घाइते भएका छन् ।
घाइतेहरूको नगर अस्पताल सासापुर, नमूना अस्पताल हरिवन तथा हरिवन बजारका विभिन्न निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो । केही घाइतेले हेटौंडा, वीरगञ्ज र काठमाडौं पुगेर आवश्यक खोप तथा उपचारसमेत गराएका छन् । स्यालले एकैपटक धेरै मानिसलाई टोकेपछि हरिवन नगरपालिकाले छिमेकी लालबन्दी नगरपालिकासँग समन्वय गरी नगर अस्पताल सासापुरमा रेबिजविरुद्धको खोपको व्यवस्था गरेको छ । स्वास्थ्य शाखा संयोजक चौधरीका अनुसार तत्काल नगर अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएपछि घटना हुनासाथ लालबन्दी नगरपालिकाबाट खोप सापटी लिएर अस्पतालमा राखिएको हो ।
यसैबीच, हरिवन नगरपालिकाको पशु स्वास्थ्य शाखाका डा. महेश श्रेष्ठका अनुसार स्यालले करिब २५ वटा भैँसी र बाख्रालाई समेत टोकेको छ । आइतबार बिहान स्यालले आक्रमण गरेका बस्तीमा पुग्दा किसानहरूले घाइते पशुचौपायालाई निजी भेटेरिनरीका पशु प्राविधिक बोलाएर रेबिजविरुद्धको खोप लगाइसकेको पाइएको डा. श्रेष्ठले बताउनुभयो । स्यालले टोकेका पशुचौपायाका लागि थप रेबिजविरुद्धको खोप आवश्यक परे पशु स्वास्थ्य शाखामा खोप उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो ।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल)ले स्यालको आक्रमणबाट मानिस तथा पशुचौपाया घाइते भएपछि स्वास्थ्यकर्मी र पशु प्राविधिक परिचालन गरिएको जानकारी दिनुभयो ।
भिडियाे रिपाेर्ट