सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलीमा पुरानो माटोभित्र पुरिएको अवस्थामा सकेट बम फेला परेको छ ।
स्थानीयवासीले माटो खन्ने क्रममा बमजस्तो देखिने शंकास्पद वस्तु फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक नरेश लिम्बुका अनुसार फेला परेको वस्तुको पहिचानका लागि नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । उक्त वस्तु कुन प्रकृतिको बम हो भन्ने कुरा नेपाली सेनाको प्राविधिक टोलीले परीक्षण गरेपछि मात्रै यकिन हुने उनले बताए ।
हाल घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो माटोमा पुरिएको अवस्थामा बम फेला परेपछि स्थानीयवासीमा त्राससमेत फैलिएको छ । प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।
भिडियाे रिपाेर्ट