जेनजी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिका–५ र ६ का बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।
पटेलको नेतृत्वमा आइतबार गजुरी गाउँपालिका–५ र ६ मा रहेको बाढीपीडित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका करिब २ सय परिवारलाई राहत सामग्री वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष गोविन्द लामिछाने, वडा नम्बर ६ का अध्यक्ष भक्तबहादुर तामाङ, जेनजी पर्साका संयोजक महादेवप्रसाद कुर्मी, प्रमुख सल्लाहकार वीरेन्द्र कण्ठ, युवा अभियन्ता तथा समाजसेवी सुशील पटेल, जेनजीका चन्दन महतो र रोकी खानलगायतको उपस्थिति रहेको थियो ।
पीडित परिवारलाई चामल, दाल, आलु, प्याज, नुन, तेल, साबुन, सोयाबिन, चिउरा, दालमोट तथा लत्ताकपडालगायतका सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । वितरण गरिएको राहत सामग्रीको कुल मूल्य करिब १५ लाख रुपैयाँ बराबर रहेको बताइएको छ ।
जेनजी पर्सा तथा युवा नेता सुधीर पटेलको नेतृत्वमा राहत सामग्री बोकेर टोली शनिबार वीरगञ्जबाट धादिङतर्फ प्रस्थान गरेको थियो । धादिङ पुगेपछि आइतबार बाढीबाट प्रभावित तथा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
बाढी तथा विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको आयोजकले जनाएको छ ।
भिडियाे रिपाेर्ट