नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुँदै आएको एकमात्र सञ्चालनमा रहेको वाइडबडी जहाज जापानमै रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान तालिका प्रभावित भएको छ। जापानको नारिताबाट सोमबार बिहान काठमाडौं फर्किनुपर्ने जहाजमा प्राविधिक समस्या देखिएपछि २२६ यात्रुसहितको उडान अनिश्चित बनेको हो ।
निगमको वाइडबडी जहाज आइतबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानका लागि उडेको थियो। निर्धारित तालिकाअनुसार सोमबार स्थानीय समयअनुसार बिहान साढे १० बजे नारिताबाट उडेर दिउँसो ३ बजे काठमाडौं अवतरण गर्नुपर्ने थियो । तर जहाजको इन्जिनमा समस्या देखिएपछि नारितामै रोकिएको निगमले जनाएको छ। निगमका अनुसार जहाजको दायाँतर्फको नम्बर २ इन्जिनका २६ वटा ब्लेडमध्ये एउटा ब्लेडमा क्षति पुगेको छ । क्षतिग्रस्त ब्लेडका कारण जहाज तत्काल उडानका लागि तयार हुन नसकेको हो ।
जहाज जापानमै रोकिएपछि निगमका अन्य अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित हुने देखिएको छ। सोमबार राति दोहा जाने २६९ यात्रु तथा मंगलबार बिहान दोहाबाट काठमाडौं फर्किने २६९ यात्रुको उडान तालिका प्रभावित हुन सक्ने निगमले जनाएको छ। निगमसँग हाल चारवटा जहाज रहे पनि अन्तर्राष्ट्रिय उडानतर्फ प्रयोग हुने वाइडबडीमध्ये एउटा मात्र सञ्चालनमा थियो। अर्को वाइडबडी जहाज लामो समयदेखि इटालीमा मर्मतका लागि रोकिएको छ ।
नियमित उडानपछि खाली उडान फेरी फ्लाइट मार्फत मर्मतका लागि इटाली पठाइएको उक्त जहाजको इन्जिनको ‘सिडक्ट’मा समस्या देखिएपछि मर्मत भइरहेको निगमले जनाएको छ। उक्त जहाज भदौ १५ गतेसम्म नेपाल फर्काउने निगमको योजना रहे पनि निर्धारित समय बितिसक्दा पनि नेपाल ल्याउन सकिएको छैन ।
यसैबीच, जापानमा रोकिएको वाइडबडी जहाजलाई तत्काल मर्मत गरी नेपाल फर्काउने प्रयास भइरहेको निगमले जनाएको छ। निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार नारितामै आवश्यक पार्ट्सको व्यवस्था गरी जहाजलाई छिटोभन्दा छिटो नेपाल फर्काउने प्रयास भइरहेको छ। उनले भने, “नारितामा थाई एयरसँग ब्लेड मागेर सोधभर्ना गर्ने वा नेपालबाटै पठाउने विषयमा छलफल भइरहेको छ। थाईसँग उपलब्ध नभए काठमाडौंबाट जतिसक्दो चाँडो पठाउने प्रयास हुन्छ ।”
क्षतिग्रस्त ब्लेड फेरेर जहाजलाई उडानयोग्य बनाएपछि नेपाल फर्काइने निगमले जनाएको छ। निगमले हाल चारवटा जहाजमार्फत विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ। तर नियमित मर्मत तथा पटक–पटक देखिने प्राविधिक समस्याका कारण निगमको उडान सञ्चालन प्रभावित हुँदै आएको छ ।
एउटा वाइडबडी लामो समयदेखि इटालीमा रोकिएको र अर्को जापानमै प्राविधिक समस्याका कारण थन्किएपछि निगमसँग अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि जहाजको अभाव देखिएको छ। यसको प्रत्यक्ष असर यात्रुको टिकट, उडान तालिका र निगमको सेवा सञ्चालनमा पर्ने देखिएको छ ।