अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि डाइभर्सिटी भिसा डीभी तथा आप्रवासी भिसा जारी गर्ने प्रक्रिया पुनः अघि बढाउने भएको छ। यसअघि अस्थायी रूपमा रोकिएका भिसा आवेदनसमेत पुनरावलोकन गरी योग्य आवेदकको प्रक्रिया अघि बढाइने भएको हो ।
गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई ‘सरकारी सहायता तथा वेलफेयरमा निर्भर हुन सक्ने’ सम्भावना देखाउँदै आप्रवासी तथा डीभी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो ।
उक्त निर्णयविरुद्ध परेको मुद्दामा संघीय अदालतले भिसा रोक्ने निर्णयलाई असंवैधानिक तथा कानुनी अधिकारभन्दा बाहिर रहेको ठहर गर्दै बदर गरिदिएको थियो। अदालतले विदेशमन्त्री मार्को रुबियोलाई यसरी एकमुस्ट रूपमा आप्रवासी भिसा रोक्ने कानुनी अधिकार नरहेकोसमेत आदेशमा उल्लेख गरेको छ । अदालतको आदेशपछि अमेरिकी विदेश मन्त्रालयले रोकिएका भिसा आवेदनको प्रक्रिया पुनः अघि बढाउन सम्बन्धित दूतावास तथा महावाणिज्य दूतावासलाई निर्देशन दिएको जनाएको छ।
विदेश मन्त्रालयका अनुसार अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २२१ अन्तर्गत रोकिएका वा अस्वीकृत भएका भिसा आवेदन पहिचान गरी पुनः प्रक्रिया अघि बढाइनेछ। सम्बन्धित दूतावासहरूले रोकिएका डीभी तथा आप्रवासी भिसाका फाइल पुनरावलोकन गर्ने, आवश्यक परे थप कागजात माग गर्ने तथा आवश्यकताअनुसार पुनः अन्तर्वार्ता लिन सक्नेछन् । समीक्षापछि अमेरिकी कानुनअनुसार योग्य ठहरिएका आवेदकलाई भिसा जारी गरिने विदेश मन्त्रालयले जनाएको छ ।
संघीय अदालतको आदेशपछि विदेश मन्त्रालयले आफ्नो मातहतका दूतावास तथा महावाणिज्य दूतावासलाई भिसा जारीसम्बन्धी निर्णय कार्यान्वयन गर्न पत्राचारसमेत गरिसकेको जनाएको छ।
अदालतले आर्थिक वर्ष २०२६ समाप्त हुनुअघि रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिन विदेश मन्त्रालयलाई निर्देशन दिएको छ। यही क्रममा अगस्ट २३ देखि सेप्टेम्बर ३० बीच अन्तर्वार्ताको मिति तोकिएर पछि सारिएका आर्थिक वर्ष २०२६ का डीभी आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिइएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यस निर्णयसँगै यसअघि प्रक्रिया रोकिएका नेपाली डीभी तथा आप्रवासी भिसा आवेदकलाई समेत आफ्नो आवेदनको पुनरावलोकन तथा भिसा प्रक्रियामा अघि बढ्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ । यद्यपि भिसा जारी हुने वा नहुने अन्तिम निर्णय भने प्रत्येक आवेदकको योग्यता र अमेरिकी अध्यागमन कानुनअनुसार हुने छ ।