रौतहटमा रातको समयमा लालबकैया खोलाको पानीमा काठ बगाएर तस्करी गर्ने प्रयास गरिएको पाइएको छ। वन कर्मचारीको गस्ती टोली पुगेपछि काठ ओसारपसारमा संलग्न व्यक्तिहरू काठ छाडेर फरार भएका छन् ।
डिभिजन वन कार्यालय रौतहटको टोलीले सोमबार बिहान करिब २ बजे जङ्गलसहिया सब–डिभिजन वन कार्यालयअन्तर्गत लालबकैया खोलाको गर्जा पुलबाट करिब २ सय मिटर माथिल्लो क्षेत्रमा पानीमा बगिरहेको अवस्थामा सालको काठ नियन्त्रणमा लिएको हो। राति नियमित गस्ती तथा निगरानीमा रहेका वन अधिकृत अनिलकुमार महतो, विनोद जेठरा र शेरबहादुर बुढाको टोलीले खोलामा काठ बगिरहेको देखेपछि त्यसलाई नियन्त्रणमा लिएको वन कार्यालयले जनाएको छ ।
काठ बरामद भएको जानकारी पाएपछि जङ्गलसहिया सब–डिभिजन वन कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरीसहितको थप टोलीसमेत घटनास्थल पुगेको थियो। वन कार्यालयका अनुसार बरामद काठमा सालका चार थान गोलिया र एक थान चौपाटा रहेका छन् । पाँच थान काठको कुल परिमाण २७.४७ क्युबिक फिट रहेको छ । वन कर्मचारी तथा सुरक्षाकर्मीको टोली आएको देखेपछि काठ बगाएर लैजाने समूह अँध्यारोको फाइदा उठाउँदै घटनास्थलबाट फरार भएको बताइएको छ ।
बरामद काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी वन कार्यालयको नियन्त्रणमा राखिएको छ। काठ तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। वन कार्यालयले वन क्षेत्रबाट हुने अवैध कटानी तथा काठ चोरी–तस्करी नियन्त्रणका लागि रातको समयमा समेत गस्ती र निगरानीलाई तीव्रता दिएको जनाएको छ। सुरक्षाकर्मीसँगको समन्वयमा अवैध वन पैदावारको ओसारपसार नियन्त्रणमा थप कडाइ गरिने कार्यालयको भनाइ छ ।