युक्रेनको पश्चिमी क्षेत्रमा रहेको याहोदिनमा रुसी ड्रोन आक्रमण भएको छ । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनसहित युरोपका उच्च सुरक्षा अधिकारीहरू सोही रेलमार्ग हुँदै गुज्रिएको केही समयपछि अर्को रेललाई ड्रोनले निशाना बनाएको हो ।
युक्रेन–पोल्यान्ड सीमाबाट करिब दुई किलोमिटर दूरीमा रहेको याहोदिन क्षेत्रमा भएको आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगेको बताइएको छ । युक्रेनी अधिकारीका अनुसार घटनामा कुनै यात्रुको मृत्यु वा घाइते भएको छैन। आक्रमणपछि रेलमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाइएको छ।
जोन्सनसँगै बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेललगायत युरोपेली अधिकारीहरू किभमा आयोजित सम्मेलनमा सहभागी भएर फर्किने क्रममा थिए । उनीहरू आक्रमणमा परेको रेलभन्दा केही समयअघि सोही रेलमार्गबाट यात्रा गरिसकेका थिए ।
रुसले भने पश्चिमी युक्रेनको रेल पूर्वाधारलाई लक्षित गरेर आक्रमण गरिएको दाबी गरेको छ। यद्यपि, युक्रेनको सरकारी रेल कम्पनी उक्रजालिज्नित्सियाले आक्रमणको लक्ष्य कूटनीतिक टोली बोकेको रेल हुन सक्ने सम्भावनातर्फ संकेत गरेको छ । घटनाका बेला याहोदिन स्टेसनमा रहेका पूर्वसीआईए प्रमुख डेभिड पेट्रियसले ड्रोन प्रहारलाई ‘डरलाग्दो’ घटना भएको बताएका छन् । उनले यस्तो आक्रमणलाई युक्रेनी नागरिकमा त्रास फैलाउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
युक्रेन र पोल्यान्डका अधिकारीहरूका अनुसार ड्रोन प्रहार भएको स्थान पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर मात्रै टाढा पर्छ । सीमाक्षेत्रनजिकै भएको यो घटनाले युद्धको प्रभाव र सुरक्षा जोखिमबारे थप चिन्ता बढाएको छ ।