काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सोमबार यस्तो आदेश गरेको हो । सुप्रिम सहकारी प्रकरणमा रकम ठगी मुद्दामा लामिछानेसहित १४ जनाविरुद्ध असोज ५ गते पूरक जाहेरीका आधारमा इलाका प्रहरी कार्यालयले मुद्दा चलाएको थियो । यसअघि वैशाख २ गते २८ जनालाई प्रतिवादी बनाएर सोही प्रकरणमा मुद्दा दायर गरिएको थियो ।
लामिछाने माघ ९ गते रुपन्देही जिल्ला अदालतमा कानुनी प्रक्रियामा सहभागी हुन उपस्थित भएका थिए । बयान सकिएपछि उनलाई परिवार र कानुन व्यवसायीको जिम्मा लगाइएको थियो । माघ १० गतेदेखि थालिएको बहसपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सुप्रिम सहकारी प्रकरणमा यसअघि सहकारीका मुख्य निर्णयकर्ता र अन्य व्यक्तिहरूलाई विभिन्न धरौटी रकममा रिहा गरिएको थियो । सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र सचिव कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् ।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।