वीरगंज महानगरपालिका–२६ का वडाध्यक्ष शम्भु मिश्राको घर निर्माणमा सार्वजनिक संरचना भत्काउँदा निकालिएका निर्माण सामग्री प्रयोग गरिएको स्थानीयवासीले आरोप लगाएका छन् ।
वडा नम्बर २६ का विभिन्न स्थानमा रहेका सार्वजनिक संरचना हटाउने क्रममा निकालिएका फलामे डण्डी, इँटा, जस्ता, झ्याल, चौकठलगायतका सामग्री वडाध्यक्ष मिश्राको घरमा प्रयोग गरिएको स्थानीयको दाबी छ ।स्थानीयवासीका अनुसार संघ सरकारअन्तर्गतका पाँच वटा कार्यालयका पुराना संरचना हटाउने क्रममा निस्किएका सामग्रीमध्ये केही व्यक्तिगत प्रयोजनमा प्रयोग भएको आरोप छ । उनीहरूले सुगौलीविर्तास्थित पशु अस्पताल, उपस्वास्थ्य चौकी, नेपाल खाद्य संस्थान, वीरगंज चिनी मिलको सम्पर्क कार्यालय तथा कृषि कार्यालयका संरचनाबाट निकालिएका सामग्रीको विषयमा समेत छानबिन हुनुपर्ने माग गरेका छन् ।
स्थानीयले सार्वजनिक संरचनाबाट निकालिएका सामग्रीको मूल्य करिब ५० लाख रुपैयाँ बराबर रहेको दाबी गरेका छन्। तीमध्ये केही सामग्री वडाध्यक्षको घर निर्माणमा प्रयोग गरिएको र केही सामग्री अन्यत्र राखिएको उनीहरूको आरोप छ । स्थानीयवासीका अनुसार वडाध्यक्षको घरबाट झ्याल तथा चौकठलगायतका सामग्री भेटिएपछि तीमध्ये केही सामग्री वडा प्रहरी कार्यालयमा बुझाइएको थियो । सार्वजनिक स्थानबाट निकालिएका इँटालगायतका सामग्री पनि वडाध्यक्षको घरअगाडि राखिएको देखिएको तर पछि हटाइएको स्थानीयको दाबी छ ।
यस विषयमा स्थानीयवासीले वडाध्यक्ष मिश्राको घरमा पुगेर सार्वजनिक संरचनाबाट निकालिएको भनिएका सामग्री प्रयोग भएको भन्दै विरोधसमेत गरेका थिए। विरोधपछि केही सामग्री इलाका प्रहरी कार्यालय सुगौलीविर्तामा बुझाइएको उनीहरूले बताएका छन् ।
स्थानीयवासीले सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापन गर्ने जिम्मेवारी जनप्रतिनिधिको भएकाले सार्वजनिक संरचनाबाट निकालिएका सामग्री व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको भए त्यसबारे छानबिन हुनुपर्ने बताएका छन् । उनीहरूले सार्वजनिक संरचना भत्काउँदा निकालिएका सम्पूर्ण सामग्रीको विवरण तयार गरी मूल्यांकन गर्न तथा ती सामग्री कहाँ र कसरी प्रयोग भए भन्ने विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सार्वजनिक सम्पत्तिको दुरुपयोग पुष्टि भए कानुनअनुसार कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
वडाध्यक्ष भन्छन्– ‘बदनाम गर्ने उद्देश्यले आरोप लगाइयो’
यता, वडाध्यक्ष शम्भु मिश्राले भने आफूलाई बदनाम गर्ने उद्देश्यले आरोप लगाइएको दाबी गरेका छन् । सार्वजनिक संरचना हटाउँदा निकालिएका झ्याल, चौकठलगायतका सामग्री सुरक्षित राख्नका लागि वडा प्रहरी कार्यालयमा बुझाइएको उनले बताए ।
आफ्नो घर निर्माणमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको दाबी गर्दै मिश्राले पुराना इँटा तथा अन्य निर्माण सामग्री प्रयोग गरेर आफूले घर निर्माण नगरेको बताएका छन् । आफूविरुद्ध प्रतिस्पर्धीहरूले आधारहीन आरोप लगाएको उनको भनाइ छ ।
वडाध्यक्ष मिश्राले यसअघि वडा क्षेत्रमा रहेका सरकारी संरचना हटाउँदा निकालिएका सामग्री स्थानीय व्यक्तिहरूले लैजाने गरेको दाबी गर्दै त्यस्ता सामग्री संरक्षणका लागि वडा कार्यालयमा बुझाइएको बताए ।
सार्वजनिक सामग्रीको विषयमा आवश्यक छानबिन भए आफू सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन् ।
भिडियाे रिपाेर्ट