प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले सांसदहरूलाई जवाफ दिने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरू प्रस्तुत हुनेछन् । ती प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले सदनमा जवाफ दिनेछन् ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स को सदस्यता प्राप्त गर्ने विषयसँग सम्बन्धित दस्तावेज सदनमा पेस गर्ने कार्यसूची पनि रहेको छ । नेपाल सरकारले उक्त सदस्यता प्राप्त गर्ने सम्बन्धमा आफ्नो धारणा स्पष्ट पार्दै तयार पारेको घोषणासहितको दस्तावेजमाथि प्रतिनिधिसभामा छलफल हुनेछ ।
छलफलपछि उक्त प्रस्तावलाई अनुमोदन गर्ने कार्यसूचीसमेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।