राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आफूले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी नभएको विषयमा स्पष्टीकरण दिएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री शाह सरकार सञ्चालनसँग सम्बन्धित काममा व्यस्त रहेकाले सर्वदलीय बैठकमा सहभागी नभएको बताएका हुन्। उनले पार्टी र सरकारका जिम्मेवारी छुट्टाछुट्टै रूपमा बाँडफाँट गरिएको उल्लेख गरे ।
लामिछानेका अनुसार प्रधानमन्त्री शाह पछिल्लो समय बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि तथा प्रभावित नागरिकसँग निरन्तर संवादमा छन् । उनले यस्तो संवादलाई प्रधानमन्त्रीको संवेदनशीलतासँग जोडेर व्याख्या गरे ।
‘प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ । स्थानीय तहका साथीहरू राजनीतिज्ञ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग समय निकालेर भेटिरहनुभएको छ लामिछानेले भने ‘प्रभावित क्षेत्रका मानिससँग प्रत्यक्ष जोडिएका जनप्रतिनिधिसँग छलफल गर्नु उहाँको संवेदनशीलताको उदाहरण हो।’
सर्वदलीय बैठकमा प्रधानमन्त्रीको उपस्थितिबारे उठेको प्रश्नमा लामिछानेले राजनीतिक कामको जिम्मेवारी बाँडफाँट गरिएको बताए । उनका अनुसार पार्टीका गतिविधि पार्टी नेतृत्वले र सरकारसम्बन्धी काम प्रधानमन्त्रीले हेर्ने व्यवस्था गरिएको छ । ‘राजनीतिक काम हामी बाँडफाँट गरेर गर्छौँ । पार्टीको जिम्मेवारी पार्टीले हेर्ने र सरकारको जिम्मेवारी सरकारले तथा प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका छ उनले भने ।
प्रधानमन्त्रीले सर्वदलीय बैठकमा उपस्थित नभए पनि प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिसँग छलफल गरिरहेको उनको भनाइ थियो । आइदिए हुन्थ्यो बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै हो । तर, गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ त्यहाँ उहाँ हुनुहुन्छ लामिछानेले भने ।
रास्वपाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए।प्रधानमन्त्री शाहको अनुपस्थितिबारे उठेको प्रश्नमा लामिछानेले आफूहरूबीच कामको जिम्मेवारी बाँडफाँट भएकाले आगामी दिनमा पनि यस्ता विषयमा प्रश्न उठ्न सक्ने बताएका छन् ।
‘यो कार्यकालभरि तपाईंहरूको यो प्रश्न रहिरहन्छ । तर आजै यो प्रश्नलाई डम्प गरिदिए हुन्छ किनभने हामीले काम बाँड्या छौँ उनले भने ।