राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले जनकपुरधामबाट मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन् । छठ पर्वको पारन सकिएलगत्तै जनकपुरधामबाट पदयात्रा सुरु गर्ने उनले बताएका हुन् ।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँगको भेटघाटमा सिंहले मधेशलाई नजिकबाट बुझ्न र देशका विभिन्न समुदाय तथा भूगोललाई जोड्ने उद्देश्यले पदयात्रा गर्न लागेको बताए ।
उनका अनुसार जनकपुरधामस्थित गंगासागरमा छठको अर्घ्य दिएपछि पदयात्रा सुरु हुनेछ। पदयात्राको मुख्य सन्देश ‘समाज जोडौँ’ रहेको उनले बताए ।
सिंहले राजनीतिले समाजलाई विभाजित गर्ने नभई जोड्ने भूमिका खेल्नुपर्ने धारणा राखे। देशको समृद्धि र राष्ट्रिय एकताका लागि सामाजिक सम्बन्धलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।
पदयात्राका क्रममा आफूले जनताको कुरा सुन्नेमा बढी ध्यान दिने सिंहले बताए। उनले दैनिक करिब पाँच घण्टा पैदल हिँड्ने र सात घण्टासम्म स्थानीय नागरिकसँग छलफल तथा संवाद गर्ने योजना रहेको जानकारी दिए ।
पदयात्रा जनकपुरधामबाट सुरु गर्दा गाग्रोमा माटो र पानी लिएर हिँड्ने तथा माघेसंक्रान्तिका दिन महाकाली नदीमा जौ र तिल विसर्जन गर्ने योजना रहेको उनले बताए ।
सिंहले मधेशका मुख्य आवश्यकता शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइमा सुधार आवश्यक रहेको उल्लेख गरे। साथै, मधेशका जनताको सहयोगबाट बनेको वर्तमान सरकारले मधेशका मुद्दालाई पर्याप्त प्राथमिकता नदिएको उनको आरोप थियो ।
आफूले सरकारका कामकारबाहीमा देखिएका कमजोरीबारे आवाज उठाउँदै आएको र आवश्यक सुधारका लागि दबाब दिइरहेको पनि सिंहले बताए ।