नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौं शाखाले औषधि पसलको वैधानिक सञ्चालन तथा औषधि बिक्री–वितरणमा कानुनी र व्यावसायिक मापदण्ड पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ ।
औषधि व्यवस्था विभागसँगको छलफलपछि सङ्घले जरुरी सूचना जारी गर्दै दर्ताबिना औषधि पसल सञ्चालन नगर्न, अनुगमन छल्ने उद्देश्यले बिहान–बेलुका वा सार्वजनिक बिदाका दिन मात्र पसल सञ्चालन नगर्न तथा आफ्नो नाममा रहेको लाइसेन्स वा व्यावसायिक प्रमाणपत्र अन्य व्यक्तिलाई भाडामा नदिन सचेत गराएको हो ।
सङ्घले औषधि व्यवसाय सामान्य व्यापार नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले व्यवसायी र फर्मासिस्टले कानुनी अनुशासन तथा पेसागत मर्यादा कायम गर्नुपर्ने जनाएको छ ।
लागुऔषध, एन्टिबायोटिक्स तथा चिकित्सकको पुर्जा आवश्यक पर्ने औषधि बिनापुर्जा वा अनधिकृत रूपमा बिक्री–वितरण नगर्न पनि सङ्घले आग्रह गरेको छ। थोक व्यवसायीलाई दर्ता नभएका वा वैधानिकता पुष्टि नभएका खुद्रा औषधि पसलमा औषधि आपूर्ति नगर्न भनिएको छ ।
सूचनाको उल्लङ्घन गरी गैरकानुनी गतिविधि सञ्चालन वा सहयोग गरेको पाइएमा त्यस्ता व्यवसायीको संरक्षण तथा पक्षपोषण नगर्ने सङ्घले स्पष्ट पारेको छ। नियामक निकायको अनुगमनका क्रममा कैफियत भेटिएमा प्रचलित कानुनअनुसार पसल बन्द वा सिलबन्दी, औषधि जफत तथा दण्डात्मक कारबाही हुन सक्ने चेतावनीसमेत दिइएको छ ।
सङ्घका महासचिव शुभमान श्रेष्ठका अनुसार व्यवसायीहरूले आफ्ना व्यावसायिक गतिविधिको तत्काल पुनरावलोकन गरी कानुनी मापदण्डअनुसार सुधार गर्नुपर्नेछ ।
यसैबीच, सङ्घले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन, २०४९’ संशोधन विधेयकबारे पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सङ्घले स्तनपानको संरक्षणसँगै विशेष परिस्थितिमा आमाको दूध उपलब्ध हुन नसक्ने शिशुका लागि स्वीकृत र गुणस्तरीय वैकल्पिक पोषणको व्यवस्था हुनुपर्ने जनाएको छ। साथै, योग्य फार्मेसीमार्फत सुरक्षित र पारदर्शी रूपमा यस्ता वस्तुको बिक्री–वितरण गर्ने वातावरण बनाउनुपर्ने सङ्घको माग छ ।