काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ले महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् । साथै, अर्थमन्त्री विष्णु पौडेल ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
गृहमन्त्री लेखकले पाँच विधेयक पेस गर्ने
आजको बैठकमा गृहमन्त्री रमेश लेखक ले पाँच फरक विधेयक प्रस्तुत गर्नेछन् । त्यस्तै, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा सजाय (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
अर्थमन्त्री पौडेलले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछन्। संघीय संसद सचिवालयका अनुसार यी विधेयकहरूबाहेक अन्य दुई विधेयक पनि बैठकमा प्रस्तुत गरिने छ ।