काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव नयाँ कार्यकक्षमा सरेका छन् ।
शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा मन्त्री यादवको कार्यकक्ष पूर्ण रूपमा क्षति भएपछि उनी अस्थायी कार्यकक्षमा सरेका हुन् । मन्त्री यादवले खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ मा अस्थायी कार्यकक्ष स्थापना गरी कामकाज सुरू गरेको उनका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए ।
“मन्त्रालयमा आगलागी भएपछि मन्त्रीज्यूको कार्यकक्ष पूर्ण रूपमा जलेको छ । मर्मत कार्य भइरहेकाले अस्थायी कार्यकक्षबाट सेवा प्रवाह सुरू गरिएको छ,” उनले भने ।
महत्त्वपूर्ण कागजात सुरक्षित
मन्त्रालयका अनुसार आगलागीबाट महत्त्वपूर्ण कागजातहरू भने सुरक्षित रहेका छन् । तर, मन्त्री यादवको कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सी, कार्पेट र सिसी क्यामेराको मनिटर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।