लगातार वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि लामो दूरी तथा रातिको यात्रा नगर्न आग्रह गरेको छ ।
महासंघले विज्ञप्तिमार्फत १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमको जानकारी अनिवार्य रूपमा लिन व्यवसायी तथा यात्रुलाई आग्रह गरेको हो ।
अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र रातिको समयमा यात्रा सकेसम्म टार्न महासंघले अनुरोध गरेको छ । सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै यातायात सञ्चालनमा विशेष सावधानी अपनाउन पनि सदस्य व्यवसायीलाई सचेत गराइएको छ ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि लगातारको वर्षाका कारण सडक अवरुद्ध, बाढी र पहिरोको जोखिम हुन सक्ने भन्दै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिसकेको छ ।
यस साताभर वर्षा हुने पूर्वानुमान रहेकाले सडकको अवस्था प्रतिकूल हुन सक्ने भन्दै यात्राका क्रममा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।