मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दैछ। बैठकमा बाढीपीडितको पुनर्स्थापना, कर्मचारी बढुवा तथा संघीय निजामती सेवा विधेयकलगायत विषयमा छलफल हुने तयारी छ ।
सरकारले प्रशासन र प्राविधिक सेवातर्फका सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारीसमेत गरेको छ। बढुवा समितिले प्रशासनतर्फ आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई सचिवमा बढुवाका लागि सिफारिस गरिसकेको छ ।
त्यस्तै, प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठ सचिव बढुवाका लागि सिफारिस भएका छन् ।
मन्त्रिपरिषद् बैठकले प्रशासन र प्राविधिक दुवै सेवाबाट एक–एक जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
बैठकमा बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना तथा राहतसँग सम्बन्धित विषयमा पनि छलफल हुने बताइएको छ। साथै संघीय निजामती सेवा विधेयकलगायत प्रशासनिक विषयलाई समेत बैठकको एजेन्डामा समेट्ने तयारी छ ।