दसैँ, तिहार र छठ पर्व सकिएपछि काठमाडौं केन्द्रित प्रदर्शन हुन सक्ने भन्दै सुरक्षा निकायले सम्भावित सुरक्षा अवस्थाबारे गृह मन्त्रालयलाई जानकारी गराएको छ ।
सुरक्षा स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले पछिल्लो राजनीतिक तथा सामाजिक गतिविधिको समीक्षा गर्दै चाडपर्वपछि हुन सक्ने प्रदर्शन र त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीबारे गृह मन्त्रालयलाई जानकारी गराएका हुन् ।
विभिन्न समूहबाट असन्तुष्टि तथा विरोधका गतिविधि देखिन थालेको भन्दै सुरक्षा निकायले आगामी समयलाई संवेदनशील रूपमा हेरेको स्रोतको भनाइ छ। तर सम्भावित प्रदर्शनको स्वरूप, समय र सहभागिताबारे भने यकिन निष्कर्ष निकालिएको छैन ।
यसअघि भदौ २७ गते सिरहाको औरही गाउँपालिकामा शिक्षामन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विरोध तथा होहल्ला भएको थियो। उक्त घटनालाई समेत पछिल्लो असन्तुष्टिको एउटा संकेतका रूपमा सुरक्षा निकायले विश्लेषण गरेको बताइएको छ। मन्त्री पोखरेलले भने केही व्यक्तिले हल्ला गरेपछि कार्यक्रम प्रभावित हुने अवस्था बनेकाले आफू कार्यक्रमबाट बाहिरिएको बताउनुभएको थियो ।
सुरक्षा निकायका अनुसार दसैँ, तिहार र छठका कारण तत्काल ठूलो प्रदर्शनको सम्भावना कम भए पनि चाडपर्वपछि राजनीतिक तथा सामाजिक असन्तुष्टिका विषयमा गतिविधि बढ्न सक्ने आकलन गरिएको छ ।
यस्तै, राष्ट्रिय अनुसन्धान विभागले पनि कात्तिकपछि देखिन सक्ने सम्भावित आन्दोलन तथा सुरक्षा चुनौतीबारे सम्बन्धित सरकारी निकायलाई लिखित जानकारी गराएको सुरक्षा स्रोतले जनाएको छ। विभागले विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिसँगै सम्भावित प्रदर्शन र त्यसको शान्ति सुरक्षामा पर्न सक्ने प्रभावबारे सूचना संकलन तथा विश्लेषण गरिरहेको बताइएको छ ।
सुरक्षा निकायले अहिले सम्भावित गतिविधिमाथि निगरानी बढाउनुका साथै आवश्यक सूचना संकलन गरिरहेको जनाएको छ। सम्भावित प्रदर्शनबारे सुरक्षा निकायको आकलन रहे पनि त्यसको निश्चित समय र स्वरूपबारे भने औपचारिक घोषणा भएको छैन ।