तराई–मधेशमा सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै मनाइने जितिया पर्व यस वर्ष पनि धार्मिक विधिपूर्वक सुरु भएको छ ।
मधेशका विभिन्न समुदाय, विशेषगरी महिलाले श्रद्धापूर्वक मनाउने जितिया कठोर व्रतका रूपमा परिचित छ । “जितिया पावनी बड भारी, धिया पुताक ठोकी सुताबै, अपना खायब भरि थारी” भन्ने लोकगीतसँगै जितियाको धार्मिक, सांस्कृतिक र सामाजिक पक्ष जोडिएको छ । परापूर्वकालदेखि तराई–मधेशका महिलाले मनाउँदै आएको यो पर्व थारू समुदायमा पनि उत्तिकै महत्त्वका साथ मनाउने गरिन्छ ।
जितियामा व्रतालु महिलाले पोखरी, नदी वा जलाशयमा स्नान गरी व्रतको प्रक्रिया सुरु गर्छन्। व्रतको अघिल्लो दिन घर–आँगन लिपपोत गरी चोखो बनाउने, पिना, तेल, घिरौलाको पात, जियलको पात, बाँसको पात तथा नयाँ लुगा लिएर जलाशयमा जाने चलन छ। स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना र तेल चढाउने गरिन्छ।
व्रतको पहिलो दिन व्रतालु महिलाले नदी, पोखरी वा तलाउमा स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको सङ्कल्प लिने परम्परा छ। दिवङ्गत हजुरआमा, सासूआमालगायत तीन पुस्ताभित्रका पितृ महिलालाई तर्पण दिने चलनसमेत रहेको छ। राजविराज नगरपालिका–२ का ७५ वर्षीय शम्भु मिश्रका अनुसार यसलाई ‘षोडश मातृका श्राद्ध’का रूपमा समेत लिने गरिन्छ।
व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाले विभिन्न परिकार, दही, मिठाइ, माछा तथा कोदोको रोटी खाने चलन छ। त्यसपछि भोलिपल्ट बिहान करिब ३ देखि ४ बजेको समयमा आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा, चिनी, केरा, मिठाइ, पान र सुपारी चढाउने गरिन्छ।
व्रतका क्रममा ‘डाली’ भर्ने परम्परा पनि महत्वपूर्ण मानिन्छ। व्रतालु महिलाले आफ्ना छोराको सङ्ख्याअनुसार नरिवल, फलफूललगायत पूजाका सामग्री डालीमा राख्छन्। उक्त डाली छोराले मानको पातले छोपिदिने र व्रतको समय पूरा भएपछि छोरा वा नातिले खोल्ने परम्परा छ। डाली खोलेपछि प्रसाद पितृ तथा जिमुतवाहनलाई चढाएर परिवार र आफन्तलाई बाँड्ने गरिन्छ। त्यसपछि मात्र व्रतालुले पानी तथा अन्य खानेकुरा सेवन गर्छन्।
जितिया व्रतमा महिलाले लामो समयसम्म पानीसमेत नखाई बस्ने भएकाले यसलाई कठिन व्रत मानिन्छ । स्वास्थ्यमा समस्या भए पनि व्रत नतोड्ने धार्मिक मान्यता कतिपय समुदायमा रहेको छ । गर्भवती महिलाले समेत व्रत निरन्तरता दिने गरेको पाइन्छ। लामो समय पानी नखाई बस्न कठिन हुने अवस्थामा स्वास्थ्यमा जटिलता आउन सक्ने भएकाले यस पक्षमा स्वास्थ्य सावधानी आवश्यक रहेको जानकारहरू बताउँछन् ।
जितियाको अर्को विशेषता पारिवारिक तथा सामाजिक सम्बन्धसँग पनि जोडिएको छ। आफन्त, साथीभाइ तथा छिमेकी मिलेर सामूहिक रूपमा दर खाने, भेटघाट गर्ने र शुभकामना आदानप्रदान गर्ने चलन बढ्दै गएको छ। यसले आपसी सद्भाव र सामाजिक सम्बन्ध सुदृढ बनाउन सहयोग पुर्याएको स्थानीय महिलाहरू बताउँछन्।
जितियासम्बन्धी गीत, कथा तथा सांस्कृतिक प्रस्तुति गर्ने अवसरसमेत सामूहिक कार्यक्रममार्फत महिलाले पाउन थालेका छन् । यसले महिलाभित्र रहेका कला तथा प्रतिभा प्रस्तुत गर्ने अवसर सिर्जना गरेको छ ।
जितियामा जियल, बाँस र घिरौलाका पातजस्ता प्राकृतिक सामग्री अनिवार्य रूपमा प्रयोग हुने भएकाले प्रकृति र वातावरण संरक्षणको सन्देशसमेत यस पर्वले दिने गरेको छ ।
सोह्रश्राद्धकै अवधिमा पर्ने भएकाले जितियामा पितृप्रति सम्मान गर्ने परम्पराले पनि विशेष अर्थ राख्छ। परम्परागत रूपमा पुरुषले मात्र पितृको श्राद्ध गर्ने अभ्यास रहेको अवस्थामा जितियामा महिलाले समेत पितृलाई तर्पण दिने र प्रसाद चढाउने परम्परा रहेकाले यसलाई महिलाको धार्मिक तथा पारिवारिक भूमिकासँग जोडिएको महत्वपूर्ण संस्कृतिका रूपमा लिइन्छ ।
भिडियाे रिपाेर्ट