काठमाडौं । आम जनता पार्टी (आजपा) ले आगामी आन्दोलनको घोषणा तथा तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बैठक आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्नेछ ।
आजपाका प्रवक्ता सुभाष साहका अनुसार पार्टीको आगामी कार्ययोजनाको रूपरेखा तय गर्न बैठक बोलाइएको हो । बैठकले आगामी आन्दोलनको तयारी तथा कार्यक्रमबारे महत्वपूर्ण निर्णय गर्ने उनले बताएका छन् ।
बैठकमा सरकारका कामकारबाहीको समीक्षा गरिनेछ भने पार्टी अध्यक्ष प्रभु साहले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमाथि छलफलसहित समसामयिक राजनीतिक विषयमा आवश्यक निर्णय गरिने प्रवक्ता साहले बताएका छन् ।
आजपाका अनुसार बैठकमा मूल्यवृद्धि, कालोबजारी, करसम्बन्धी समस्या, मलखादको अभाव तथा बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणलगायत विषयमा पनि छलफल हुनेछ ।
पार्टीले बैठकबाट आगामी आन्दोलनका कार्यक्रम र रणनीतिबारे निर्णय गर्ने जनाएको छ ।