गढीमाई साझेदारी वन उपभोक्ता समूहको प्रथम वार्षिक भेला बसन्तपुर सव डिभिजन वन कार्यालय पर्सामा सम्पन्न भएको छ ।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जर्नाधन सिंह क्षेत्रीले देशमा विभिन्न परिवर्तनकाे नाममा वन विनाश गर्ने काम भएकाे बताएका छन् । देशमा विभिन्न परिवर्तन हुदैगर्दा जनताले फाइदा लिनुपर्ने वनबाट परिवर्तनकाे नाममा तस्करहरूले फाइदा लिएकाे टिप्पणी गरेका छन् । उनले वन जोगाउन स्थानीय तहका जनताको सहकार्य आवश्यक रहेको बताए । ३५ वर्षअघि भारतमा तस्करीको लागि मानिसहरू लाइन लाग्ने गरेको स्मरण गर्दै मन्त्री क्षेत्रीले अहिले वन विनाशका कारण सिँचाइ गर्न किसानहरू प्रभावित भएको बताए । उनले पहिले दुईबाली हुने खेतिपाती अहिले मुश्किलले एकबालीमा सीमित भएको दुखेसाे पाेखे ।
उनका अनुसार वन विनाश तीव्र भए पनि वृक्षारोपण पर्याप्त हुन सकेको छैन् । उनी भन्छन, 'सबैलाई नेपालको वन जोगाउनुपर्छ भन्ने भावना छ, तर वृक्षारोपण हुन सकेको छैन, न त तस्करी रोक्न सकिएको छ । अब पनि वन संरक्षण गर्न सकेनौं भने समस्या झनै विकराल हुनेछ ।' वन उपभोक्ता समूह अबकाे पहिलाे प्राथमिकता वन जाेगाउन र वृक्षाराेपन गर्न हुनुपर्ने बताए ।
भेलामा पटेवा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश प्रसाद चौधरी, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनुज कुमार चौधरी, धोवनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम गढीमाई साझेदारी वन उपभोक्ता समूहका सभापति सहरम राउत गद्दीको अध्यक्षतामा सम्पन्न भएको थियो ।