मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ दल’ गठन भएको छ। यसअघि ‘नागरिक बचाउ दल’का रूपमा निर्वाचन आयोगमा दर्ता रहेको दलको नाम संशोधन गरी ‘नेपाल पथ दल’ बनाइएको हो ।
दलका अध्यक्ष माधवप्रसाद खतिवडाका अनुसार नाम संशोधन भई नयाँ प्रमाणपत्रसमेत प्राप्त भइसकेको छ। प्रसाईं लामो समयदेखि नागरिक बचाउ महाअभियानको नेतृत्व गर्दै आएका थिए। गत फागुनमा भएको निर्वाचनअघि उक्त अभियानलाई राजनीतिक दलका रूपमा दर्ता गरिएको थियो ।
यसअघि प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका डा. धवलशमशेर राणासँग सहकार्य गर्ने तयारी गरेका थिए। दुवै पक्षले मिलेर ‘जय नेपाल पार्टी’ गठन गर्ने घोषणा गरे पनि केही विषयमा सहमति जुट्न नसकेपछि प्रसाईं उक्त प्रक्रियाबाट अलग भएका थिए।
हाल ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको जनाइएको छ। यता, प्रसाईं नेतृत्वको ‘नेपाल पथ दल’ले भने नाम संशोधनको प्रमाणपत्र प्राप्त गरिसकेको छ ।
दलमा ३५१ सदस्यीय केन्द्रीय समिति रहेको छ। प्रसाईंको नेतृत्व रहे पनि अन्य पदाधिकारी भने चयन भइसकेका छैनन्। दलको चुनाव चिह्न परिवारसहितको घर रहेको बताइएको छ ।
जय नेपाल पार्टीसँग एकीकरणको सम्भावनाबारे खतिवडाले अस्वीकार गरेका छन्। उनले आफ्नो दल दर्ता भइसकेको उल्लेख गर्दै जय नेपाल पार्टीका सदस्यहरू नेपाल पथ दलमा आउन चाहे स्वागत गरिने बताएका छन् ।
यससँगै नागरिक बचाउ अभियानबाट अघि बढेको राजनीतिक समूहले नयाँ नाम र चुनाव चिह्नसहित राजनीतिक गतिविधि अगाडि बढाउने भएको छ ।