रौतहट । रौतहटको गौरमा घरभित्रै गोदाम बनाएर लुकाइछिपाइ राखिएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमले जारी गरेको विज्ञप्तिअनुसार गौर नगरपालिका–१ स्थित मनोज साहको घरमा भन्सार छली गरी ल्याइएका सामान गोदाम बनाएर भण्डारण गरिएको विशेष सूचना प्राप्त भएपछि संयुक्त सुरक्षा टोलीले छापा मारेको हो ।
बिहीबार राति १ बजेर १० मिनेटमा भन्सार सुरक्षा गार्ड गौर (नेपाल प्रहरी), सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र गौर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले साहको घरमा कानुनबमोजिम खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा १० लाख १२ हजार २०० रुपैयाँ मूल्य बराबरका साडी, कुर्ती, तन्ना सेट, झुललगायतका लत्ताकपडा तथा खरेटो झाडु र फूल झाडु बरामद गरिएको डीएसपी गौतमले जानकारी दिनुभयो।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
घरलाई नै गोदाम बनाएर भन्सार छलीका सामान भण्डारण गरिएको सूचनाका आधारमा गरिएको संयुक्त कारबाहीले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता देखाएको छ।