सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ का ३५ वर्षीय मोहमद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा पैदल हिँडिरहेका उनीहरूलाई शंका लागेर जाँच गर्ने क्रममा नक्कली नोट फेला परेको हो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरूको शरीर तलासी गर्दा ५०० दरका तीन थान र एक हजार दरका २४ थान गरी जम्मा २७ थान नक्कली नोट बरामद गरेको हो ।
बरामद नोटको कुल मूल्य २५ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई नक्कली नोटसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।