बारा । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको विवादपछि स्वास्थ्य चौकीको मुख्य भवनमा घेरिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ ।
स्थानीय युवक आदित्य पासवानलाई प्रहरीको गोली लागेपछि तनावग्रस्त बनेको घटनास्थलमा रहेका कर्मचारीहरू झन्डै दुई घण्टासम्म भवनभित्रै थुनिएका थिए । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार उनीहरूलाई सकुशल उद्धार गरिएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार बिहान घटना हुँदा स्वास्थ्य चौकीको मुख्य भवनमा इन्स्पेक्टरसहित केही निजामती कर्मचारी पनि उपस्थित थिए । अवस्था बिग्रिएपछि उनीहरू भवनभित्रै घेरिएका थिए ।
शनिबार बिहान साढे १० बजेदेखि भवनभित्र थुनिएका सरकारी कर्मचारीलाई करिब दुई घण्टापछि सुरक्षित रूपमा बाहिर निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
शनिबार बिहान फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत अस्पताल उद्घाटन गर्न खोज्दा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र उनको विपक्षी समूहबीच विवाद भएको थियो । अस्पतालको आवश्यक पूर्वाधार पूरा नभएको भन्दै स्थानीयवासीले उद्घाटनको विरोध गरेका थिए ।
विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। सो क्रममा स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए। घटनापछि फेटा क्षेत्रमा तनाव बढेको थियो ।