मधेश प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लाखौँ रुपैयाँ खर्च गरेर विभिन्न स्थानमा राखिएका ‘भिजिट मधेश’का बोर्डको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।
पर्यटन प्रवर्द्धनका नाममा सरकारी रकम खर्च गरिए पनि त्यसको प्रत्यक्ष लाभ सर्वसाधारण तथा स्थानीय पर्यटन व्यवसायीले महसुस गर्न नसकेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
पर्यटन प्रवर्द्धनका लागि प्रदेशका विभिन्न स्थानमा ‘भिजिट मधेश’का बोर्ड निर्माण तथा जडान गरिए पनि त्यसले पर्यटकको आगमन वृद्धि गर्न र स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाउन कस्तो भूमिका खेलेको छ भन्ने विषयमा प्रश्न उठ्न थालेको हो ।
स्थानीयका अनुसार लाखौँ रुपैयाँ खर्च गरेर ठाउँठाउँमा बोर्ड राखिए पनि त्यसबाट मधेश प्रदेशको पर्यटन क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । बोर्ड राखिएपछि पर्यटकको संख्या बढेको छ कि छैन, स्थानीय व्यवसायीले त्यसबाट कति लाभ प्राप्त गरेका छन् र पर्यटन प्रवर्द्धनमा त्यसको वास्तविक योगदान के छ भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्न सकेको छैन ।
सरकारी बजेटबाट निर्माण तथा जडान गरिएका बोर्डहरूको संरक्षण, व्यवस्थापन र उपयोगिताबारे समेत स्थानीयले चासो व्यक्त गरेका छन् । प्रचारप्रसारका नाममा रकम खर्च गर्ने तर त्यसको प्रभावकारी अनुगमन र उपलब्धिको मूल्याङ्कन नगर्ने प्रवृत्तिले सरकारी लगानीको औचित्यमाथि नै प्रश्न खडा गरेको उनीहरूको भनाइ छ ।
यसैबीच, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम तथा योजनाको कार्यान्वयनलाई लिएर मधेश प्रदेशका पर्यटनमन्त्री कनीष पटेलको कार्यशैलीमाथि समेत प्रश्न उठ्न थालेको छ । पर्यटन क्षेत्रको विकासका लागि विनियोजन गरिएको बजेटको प्रभावकारी उपयोग र त्यसबाट प्राप्त उपलब्धिबारे मन्त्री तथा सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने स्थानीयको माग छ ।
पर्यटन प्रवर्द्धनका नाममा बजेट खर्च हुँदै जाने तर त्यसको प्रत्यक्ष लाभ जनताले कहिले पाउने भन्ने प्रश्नसमेत स्थानीयले उठाएका छन् । उनीहरूले ‘भिजिट मधेश’ कार्यक्रमअन्तर्गत खर्च भएको रकमको विवरण, बोर्ड निर्माणको लागत र कार्यक्रमबाट प्राप्त उपलब्धि सार्वजनिक गर्न सम्बन्धित मन्त्रालयसँग माग गरेका छन् ।
सरकारी लगानीबाट सञ्चालन गरिएका पर्यटन प्रवर्द्धनका कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरी खर्चको औचित्य पुष्टि गर्नुका साथै मधेश प्रदेशको पर्यटन विकासका लागि परिणाममुखी योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ ।