सप्तरी | सप्तरीको राजविराजस्थित भूमि प्रशासन कार्यालय (मालपोत) को हाताभित्र अतिक्रमण गरी लेखापढी व्यवसायीले निर्माण गरेका घर तथा अन्य संरचना हटाइएको छ ।
आइतबार साँझ सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा कार्यालय परिसरभित्र निर्माण गरिएका अतिक्रमित संरचना हटाइएको हो ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार कार्यालय परिसरभित्र रहेका यस्ता संरचना हटाइएपछि कार्यालयभित्र हुने बिचौलियाको पहुँच नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण हुने विश्वास गरिएको छ ।
यसैबीच, राजविराज नगरपालिकाले नगर क्षेत्रका अतिक्रमित फुटपाथ खाली गराउने अभियानलाई पनि तीव्रता दिएको छ । नगरपालिकाले अड्डा लाइनलगायत विभिन्न स्थानमा अतिक्रमण गरी सञ्चालन गरिएका संरचना हटाउने कामलाई निरन्तरता दिएको जनाएको छ ।
कार्यवाहक नगरप्रमुख इसरत परविणका अनुसार फुटपाथ खाली गराउन पटक–पटक सूचना जारी गर्दा पनि सम्बन्धित पक्षले बेवास्ता गरेपछि बाध्य भएर नगरप्रहरी र डोजर परिचालन गरी अतिक्रमण हटाउन थालिएको हो ।
नगरपालिकाले सार्वजनिक स्थान र फुटपाथलाई अतिक्रमणमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।