मधेश प्रदेशका विभिन्न जिल्लामा आजदेखि बाक्लो हुस्सु लाग्न थालेको छ । मौसममा आएको परिवर्तनसँगै बिहानैदेखि हुस्सु र चिसो बढेपछि तराई–मधेशको जनजीवन प्रभावित हुन थालेको हो ।
मंसिर महिना सुरु हुन एक दिन मात्रै बाँकी रहँदा मौसममा आएको बदलावले तराई–मधेशमा चिसोको प्रभाव देखिन थालेको छ । बाक्लो हुस्सुका कारण बिहानको समयमा सडक तथा आसपासका क्षेत्रमा दृश्यता कमजोर बनेको छ भने सर्वसाधारणको दैनिक गतिविधिमा समेत असर परेको छ ।
हुस्सु र चिसोको प्रभाव छठ पर्वका अवसरमा समेत देखिएको छ । सप्तरीका केही क्षेत्रमा बाक्लो हुस्सुका कारण सूर्योदय देख्न कठिनाइ भएपछि छठका व्रतालुहरूलाई उदाउँदो सूर्यलाई अर्घ्य दिन असहज भएको थियो। चिसो पानीमा दुई घण्टाभन्दा बढी समय बिताउनुपर्दा व्रतालुहरूले थप कठिनाइ भोग्नुपरेको थियो ।
यसैबीच, बाक्लो हुस्सुका कारण सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमनसमेत प्रभावित भएको छ। सडकमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरीले सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
ट्राफिक प्रहरीले हुस्सु लागेको समयमा सवारीसाधनको गति नियन्त्रणमा राख्न, अगाडि चलिरहेको सवारीसाधनसँग सुरक्षित दूरी कायम गर्न तथा आवश्यकताअनुसार बत्तीको प्रयोग गर्न सुझाव दिएको छ ।
मौसममा आएको परिवर्तनसँगै चिसो बढ्न थालेपछि विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई स्वास्थ्यप्रति सचेत रहन आवश्यक देखिएको छ। चिसोबाट बच्न न्यानो कपडा लगाउन र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।