बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजक पदमा कार्यरत ओमप्रकाश गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्त भएको आरोपमा गिरीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गिरीले २०७८ जेठ १ गतेदेखि राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृतसरह) को रोजगार संयोजक पदमा नियुक्ति पाउन तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र पेस गरेका थिए ।
उक्त शैक्षिक प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा गिरीको नभई अन्य व्यक्तिको नाममा रहेको पाइएको आयोगले जनाएको छ ।
आफ्नो शैक्षिक योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद तथा ओहोदा प्राप्त गरेको आरोपमा आयोगले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कारबाहीको मागदाबी गरेको छ ।
आयोगले उनीविरुद्ध कैद तथा जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।