सहकारी रकम अपचलन प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कारागार चलान गरिएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। आदेशपछि लामिछानेले शुक्रबार राति नै काठमाडौँस्थित निवासबाट स्वेच्छिकरूपमा गिरफ्तारी दिएका थिए ।
शनिबार उनलाई विमानमार्फत भैरहवा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार आइतबार अदालतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई भैरहवा कारागार चलान गरिएको हो। तीन दिन न्यायिक हिरासतमा राखिएपछि उनलाई थुनामा पठाइएको हो । लामिछानेमाथि सुप्रिम सहकारीको लाखौं रुपैयाँ अपचलनमा संलग्न रहेको आरोप लाग्दै आएको छ । मुद्दाको अनुसन्धानका क्रममा उनीमाथि संलग्नताको आधार भेटिएको भन्दै अदालतले पुर्पक्ष थुनाको आदेश दिएको हो ।
यस घटनाले नेपाली राजनीतिमा तहल्का मच्चाएको छ । पूर्वगृहमन्त्री जस्तो उच्च तहको नेतामाथि थुनामा पठाउने आदेश आउनुले कानूनको शासन स्थापित भइरहेको सन्देश दिएको विश्लेषण गरिँदैछ ।