काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते मनाइने गणतन्त्र स्थापनाको अवसरमा आयोजना हुने युवा महोत्सवमा सबैलाई सहभागी हुन अपिल गरेका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको महाधिवेशनलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनाको ऐतिहासिक दिनलाई उत्सवको रूपमा मनाउन सबै नागरिकलाई आग्रह गरे ।
‘०६३ साल वैशाख ११ गतेसम्म राजाले जनताको अधिकार खोसेर रैती बनाएका थिए,’ ओलीले भने, ‘त्यस दिन जनताले विजय हासिल गरेका थिए। त्यसको स्मरणमा हामीले युवा महोत्सव आयोजना गरेका छौं ।’
प्रधानमन्त्री ओलीले नेकपा एमाले स्पष्ट नीति र दृष्टिकोणसहित अगाडि बढिरहेको उल्लेख गर्दै संक्रमणकालीन न्यायको विषयमा पनि सरकारको स्पष्ट अडान रहेको बताए। उनले द्वन्द्वकालका अमानवीय अपराधमा माफी दिन नसकिने र पीडितलाई न्याय दिने गरी प्रक्रिया अघि बढाउने बताएका छन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिस्पर्धाको अवसर सबैका लागि खुला रहेको भन्दै एमालेले एकल सरकार बनाएको बेला विकास र समृद्धिका अभूतपूर्व कामको थालनी भएको पनि स्मरण गरे ।
प्रधानमन्त्री ओलीले युवा महोत्सवलाई गणतन्त्रको उत्सवको रूपमा सहभागी भएर सफल बनाउन सबैमा अपिल गरेका छन् ।