रौतहट । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले पूर्वराजालाई फर्काउने प्रयास अब असम्भव भएको बताएका छन् ।
बिहीबार एमाले गौर नगर कमिटीको नवौँ अधिवेशन उद्घाटन गर्दै विष्टले नेपाली जनताको शान्तिपूर्ण आन्दोलनबाट समाप्त भएको राजसंस्थालाई चिहानबाट फर्काउन सकिँदैन भनेका हुन् ।
उनले लोकतान्त्रिक अभ्यास नै सबैभन्दा राम्रो शासन व्यवस्था रहेको उल्लेख गर्दै जनताले निरङ्कुश शासन अब स्वीकार नगर्ने बताए । चैत्र १५ गते राजतन्त्र फर्काउने नाममा भएको हिंसात्मक गतिविधिले जनताको समर्थन झन् टाढा पारेको उनको टिप्पणी थियो ।
बिष्टले बहुदलअगाडि जनताले भोगेको पीडा, अशान्ति र अधुरो विकासको स्मरण गराउँदै अहिले लाखौँ युवालाई स्वदेश फर्काउन, शान्ति सुरक्षाको अनुभूति दिलाउन र जनताको जीवनस्तर उकास्न एमाले पार्टी क्रियाशील रहेको बताए ।
उनले रौतहट–१ बाट ३ पटक निर्वाचित भइसकेका माधवकुमार नेपालले जिल्लाका जनतालाई झुक्याएको आरोप लगाए । “आज रौतहट आउँदा महसुस भयो– उहाँले जनताको लागि खासै काम गर्नुभएन,” बिष्टले भने ।
लामो समय प्रधानमन्त्री रहेका नेपालले रौतहटवासीसँग गद्दारी गरेको आरोप लगाउँदै उनले आगामी चुनावमा नेपाललाई जमानत जफत गराउने अपिल जनतासँग गरेका छन् ।