पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पतञ्जली आयुर्वेद कम्पनी नेपालका प्रमुख शालिग्राम सिंह र तत्कालीन भूमि सुधार सचिव छविराज पन्तसहितविरुद्ध १८ करोड ७० लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको यो मुद्दामा सरकारी पदको दुरुपयोग गरी हदबन्दी छुटमा प्राप्त भएको जग्गा कानुनविपरीत निजी स्वामित्वमा बिक्री गर्न बाटो खोलेको आरोप लगाइएको छ ।
मन्त्रिपरिषदको निर्णयपछि दुई महिनामै बिक्री
२०६६ सालमा तत्कालीन नेपाल सरकारको मन्त्रिपरिषदले भारतको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई काभ्रेपलाञ्चोक जिल्लामा उद्योग सञ्चालनका लागि करिब ५९० रोपनी जग्गा हदबन्दी छुटमा लिन अनुमति दिएको थियो। तर, उद्योग स्थापना नगरी दुई महिनाभित्रै उक्त जग्गा कानुनविपरीत तेस्रो पक्षलाई बिक्री गरिएको अख्तियारको अनुसन्धानमा खुलासा भएको छ ।
अख्तियारका अनुसार, पूर्वप्रधानमन्त्री नेपालले नै भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई जग्गा बिक्री प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार मन्त्री श्रेष्ठले प्रस्ताव पेश गरेका थिए, जसलाई मन्त्रिपरिषदले स्वीकृति दिँदै बिक्रीको बाटो खुला गरिदिएको हो । उक्त समयमा भूमिसुधार मन्त्री रहेका डम्बर श्रेष्ठको गत वर्ष निधन भइसकेको छ भने मन्त्रिपरिषद बैठकमा सहभागी तत्कालीन मुख्य सचिव माधव घिमिरेको १० वर्षअघि त्रिशूलीमा भएको जिप दुर्घटनामा बेपत्ता भएको थियाे ।
अख्तियारले विशेष अदालतमा दायर अभियोग पत्रमा निम्नलाई प्रतिवादी बनाएको छ:
- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
- तत्कालीन भूमि सुधार सचिव छविराज पन्त
- पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंह
- पतञ्जलीसँग सम्बन्धित अन्य सरोकारवाला
उनीहरूमाथि सार्वजनिक पदको दुरुपयोग गरी सरकारी नीतिनियम विपरीत निर्णय गरेर पतञ्जलीलाई अवैध लाभ पुर्याएको र राज्यलाई १८ करोड ७० लाख रुपैयाँ बराबरको क्षति पुर्याएको ठहर गर्दै मुद्दा दायर गरिएको हो ।
ऐतिहासिक महत्वको मुद्दा
नेपालको इतिहासमा कुनै प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो घटना हो। यसअघि प्रधानमन्त्रीहरूमाथि आलोचना र आरोप त लागेका थिए, तर मुद्दा दर्ता गरिएको थिएन । यो मुद्दा पछि अन्य उच्चस्तरीय निर्णयकर्ताहरूको जवाफदेहिताका दृष्टिकोणले नयाँ मिसाल बन्न सक्ने विश्लेषकहरू बताउँछन् ।
सांसद पद स्वतः निलम्बन
पतन्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।
सम्बन्धित समाचार
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर