काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोईरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सार्वजनिक सेवामा कार्यरत रहँदाको समयमा महतोले गैरकानुनी रूपमा अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार महतोले २०४६ सालदेखि २०७८ सालसम्म काठमाडौँ महानगरपालिकामा कार्यरत रहँदा आफ्नो वैध आम्दानी ३ करोड ३७ लाख ७९ हजार रुपैयाँ मात्रै देखाएका छन् । तर सोही अवधिमा उनले करिब ७ करोड ९६ लाख रुपैयाँ बराबरको सम्पत्ति आर्जन तथा खर्च गरेको पाइएको आयोगको दाबी छ ।
यो आधारमा महतोले करिब ४ करोड ५८ लाख ९७ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आयोगले निष्कर्ष निकालेको छ। उनका बैंक स्टेटमेन्ट, चेक भौचर, जग्गा खरिद कागजात, बीमा, विद्यालय शुल्क, सहकारी तथा कम्पनी कारोबारलगायत विवरणहरूको अध्ययनपछि उनको आय आर्जन अस्वाभाविक रहेको प्रमाणित भएको आयोगको भनाइ छ ।
महतोले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी अस्वाभाविक रूपमा विलासी जीवनशैली अपनाएकोसमेत आयोगले जनाएको छ। त्यस्तै, स्रोत नखुलेको रकमबाट श्रीमती माला कुमारी महतोका नाममा विभिन्न सम्पत्ति—जग्गा, घर, शेयर तथा बैंक मौज्दात—राखिएको पाइएको छ ।
आयोगले ती सम्पत्तिहरू पनि गैरकानुनी आर्जन मान्दै जफतको माग गर्दै माला कुमारी महतोलाई समेत प्रतिवादी बनाएको छ ।