अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका प्रमुख शालिग्राम सिंहविरुद्ध गम्भीर अनुसन्धान अघि बढाएको छ । सिंहले विभिन्न जिल्लामा कम्पनीका नाममा भूमि सम्बन्धी ऐन, २०२१ को हदभन्दा बढी जग्गा खरिद गरी गैरकानुनी रूपमा कारोबार गरेको प्रमाणित भएपछि आयोगले उनीमाथि छुट्टै अनुसन्धान अधिकृत तोकी विस्तृत छानबिन थालेको हो ।
सिंहले काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोक, स्याङ्जा, पाँचथर लगायतका स्थानमा पतञ्जलीका नाममा हदभन्दा बढी जग्गा खरिद गरेका छन् । तीमध्ये कतिपय जग्गा निजी प्रयोगमा लगाइएको, कतिपय अन्य व्यक्ति र कम्पनीको नाममा हस्तान्तरण गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । साथै सिंहले आफ्नै नाममा कम्पनीहरू दर्ता गराई तीमार्फत समेत जग्गा किनमेल गरेका थिए ।
अख्तियारको निर्णयमा उल्लेख छ:
“भूमि सम्बन्धी ऐनको दफा ७ ले तोकेको हदभन्दा बढी जग्गा खरिद गराई त्यसलाई निजी प्रयोगमा लगाउनु भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुरजन्य कार्य हो।”
सिंहका क्रियाकलापमा संलग्न सरकारी कर्मचारी तथा बिचौलियाहरूको समेत अनुसन्धान गर्न छुट्टै अधिकृत तोकिएको छ । अनुसन्धानका क्रममा अक्कलबहादुर कुँवर, प्रदीप लामा र दामोदर भण्डारी नामका व्यक्तिहरू पनि संलग्न रहेको पाइएको छ ।
अख्तियारले यस प्रकरणमा पतञ्जलीमार्फत बैंक तथा वित्तीय संस्थामा विप्रेषमार्फत अर्बौं रकम गैरकानुनी तरिकाले भित्र्याइएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) लाई थप अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।
यसै क्रममा अख्तियारले विशेष अदालतमा ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ, जसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत प्रतिवादी छन् । उनी अहिलेसम्मकै उच्च ओहदाका व्यक्ति हुन्, जसविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।
माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्को २०६६ माघ १८ गतेको निर्णयमार्फत पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिइएको थियो। यस निर्णयका कारण तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंहसमेत मुद्दाको भागीदार बनेका छन् । तर, सोही समितिमा रहेका अन्य ६ मन्त्रीले भने उन्मुक्ति पाएका छन् ।
यस्ता थप पाँचवटा मुद्दामा समेत अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।