भारतबाट लुकिछिपी नेपाल भित्र्याउँदै गरिएको करिब ४० लाख रुपैयाँ बराबरको इलेक्ट्रोनिक सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
शनिबार बिहान करिब ५:३० बजे सशस्त्र प्रहरी बल १२ नम्बर गणको टोलीले बाराको विश्रामपुर गाउँपालिका–३ स्थित डम्पिङ साइट नजिकबाट शंकास्पद अवस्थामा साइकलमा लोड गरी ल्याइरहेका सामान नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज बिष्टको कमाण्डमा खटिएको टोलीलाई देखेपछि सामान बोकेका व्यक्ति साइकल छाडेर भागेका थिए । गणपति खुमबहादुर के.सी.का अनुसार ती साइकलमा राखिएको झोलामा ब्राण्डेड कम्पनीका एयरपोड प्रो ९५ थान र टेम्परग्लास १६० थान रहेका थिए, जसको मूल्य करिब ३९ लाख ९२ हजार रुपैयाँ अनुमान गरिएको छ ।
बरामद गरिएको सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल १२ नम्बर गण, बाराले जनाएको छ ।