कास्कीको पोखरा–बाटुलेचौरस्थित ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी सरकारी जमिन हडप्न गरिएको योजनासम्बन्धी सार्वजनिक अडियो नक्कली नभई सक्कली भएको पुष्टि भएको छ ।
सो अडियो संघीय मामिला तथा सामान्य प्रशासनका तत्कालीन मन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठबीचको घुस मिलेमतो सम्बन्धी रहेको पुष्टि विधिविज्ञान प्रयोगशालाले गरेको हो । अडियोको पुष्टि भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई मंगलबार कार्यालयमा उपस्थित भई बयान दिन बोलाएको छ ।
अडियो प्रकरणमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वसचिव अर्जुन पोखरेल र पूर्वमन्त्री श्रेष्ठको नामसमेत आएको भए पनि उनीहरूलाई हालसम्म अनुसन्धानका लागि बोलाइएको छैन् ।
अडियोमा के छ ?
सार्वजनिक दुई छुट्टाछुट्टै अडियोमा कास्कीको मालपोत कार्यालय र भूमि आयोगमा पहुँच राख्ने व्यक्ति नियुक्त गर्ने, त्यसपछि सरकारी जमिन हडप्ने योजनाको विषयवस्तु समावेश रहेकाे छ । पहिलो अडियोमा गुप्ता, लामा र श्रेष्ठबीच २५ लाख घुसको डिलको कुरा उल्लेख छ, जुन पुस २८ गते भैंसेपाटीस्थित गुप्ताको सरकारी निवासमा भएको बताइएको छ ।
दोस्रो अडियोमा भने भूमिमन्त्री बलराम अधिकारीले आफ्ना छोरा मनोज मार्फत ३२ लाख र सचिव पोखरेलले ५ लाख घुस लिएको उल्लेख गरिएको छ । त्यस्तै, अडियोमा मालपोत प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा गराएर जग्गा हडप्ने गिरोहको योजना अनुसार कास्की पठाउने सन्दर्भ पनि समेटिएको छ ।
लिची बगान हत्याउन मिलेमतो
राणाकालको बिर्ता रुपमा रहेको दुर्गादेवी शाहको नाममा रहेको जग्गा चार जना नाति—सुरज, सुनील, भीमसेन र ओमबहादुर ठकुरीको नाममा दर्ता गरिएको देखिन्छ । त्यसपछि तीमध्ये ३३ प्रतिशत हिस्सा चार जनाको नाममा र बाँकी ६७ प्रतिशत जग्गा गिरोहले हडप्ने गरी ‘लिखित सहमति’ बनाइएको थियो । ती कागजातमा बिचौलिया सुजन लामाको हस्ताक्षर समेत रहेको छ ।
अख्तियारकाे विस्तृत अनुसन्धान जारी
अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले अनुसन्धानकै चरणमा रहेको भन्दै विषयमा विस्तृत जानकारी दिन अस्वीकार गरे । उनका अनुसार, बयानको क्रममा थप तथ्य फेला पर्न सक्ने भएकाले प्रक्रियागत रूपमा अघि बढिरहेको छ ।
यसअघि अडियो सार्वजनिक भएपछि असार ३१ गते राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए । सुरुमा आफूमाथिको आरोप असत्य भएको AI ले दुरूस्तै बनाएकाे दाबी गरे पनि चौतर्फी दबाबपछि उनी राजीनामा दिन बाध्य भएका थिए । अर्कोतर्फ भूमिमन्त्री अधिकारीले भने पत्रकार सम्मेलन गरी राजीनामा नदिने घोषणा गर्दै अडियो झूटो भएको जिकिर गरेका छन् ।
‘घूस खाएर गरिएका सरुवा’ अडियोमा स्पष्ट
अडियोमा लिची बगानको जग्गा हत्याउनका लागि मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई लमजुङबाट कास्कीमा सरुवा गराइएको र त्यसमा शक्तिकेन्द्र प्रयोग गरिएको उल्लेख छ । अधिकारीले आफ्नो सरुवा रोक्न उच्च अदालत पाटनसमक्ष मुद्दा हाले पनि आदेश नआएपछि उनी कास्कीबाट हटाइएका थिए ।
सार्वजनिक ओहोदाका व्यक्तिहरू, मन्त्री, सचिव र बिचौलियाको मिलेमतोमा राज्य संयन्त्र दुरुपयोग गरेर सरकारी जग्गा हडप्न खोजिएको योजनाको श्रृंखलाबद्ध प्रमाणहरू सार्वजनिक भइरहेका छन् । अडियो प्रमाणित भएसँगै अनुसन्धानको दायरामा रहेका गुप्ता र लामालाई बयानका लागि बोलाइनुले नयाँ मोड लिएकाे छ ।
सम्बन्धीत समाचार
भिडियाे सामाग्री