विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले आफ्नो बहुप्रतिक्षित फोल्डेबल आईफोन बजारमा ल्याउने तयारीलाई तीव्रता दिएको छ ।
पछिल्ला केही हप्तामा 'आईफोन फोल्ड' सम्बन्धी विभिन्न विवरणहरू बाहिरिएका छन्, जसअनुसार सन् २०२६ को अन्त्यतिर एप्पलले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्नेछ । प्रविधि विश्लेषक मार्क गर्मनका अनुसार एप्पलले फोल्डेबल फोनका लागि आवश्यक महत्त्वपूर्ण पाटपुर्जा छनोट गरिसकेको छ । रिपोर्टहरूका अनुसार उक्त फोनको डिजाइन सामसङको ग्यालेक्सी जेड फोल्ड सिरिजसँग मिल्दोजुल्दो हुनेछ ।
एप्पलले आफ्नो पहिलो फोल्डेबल फोनमा सामसङकै उत्कृष्ट प्रविधिको प्रयोग गर्ने तयारी गरेको छ। क्रिज-फ्री (नखुम्चिने) फोल्डेबल स्क्रिन, फोल्डिङ मेकानिजम, र अन्य कस्टम डिस्प्ले कम्पोनेन्टहरू सामसङ डिस्प्लेले निर्माण गर्नेछ । यसका लागि सामसङले दक्षिण कोरियाको असानस्थित कारखानामा छुट्टै उत्पादन लाइन स्थापना गर्ने तयारी गरेको बताइएको छ ।
फोल्डेबल आईफोन: उत्पादन, सफ्टवेयर र मूल्य
एप्पलले फोन सार्वजनिक गर्नुअघि ६० देखि ८० लाख युनिट फोल्डेबल आईफोन उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यस्तै, कम्पनीले आउँदा केही हप्ताभित्रै आईओएस २७ (iOS 27) को विकास सुरु गर्नेछ, जसमा फोल्डेबल मोडलका लागि विशेष कस्टम भर्सन समावेश हुनेछ ।
यस फोल्डेबल आईफोनलाई एप्पलको अहिलेसम्मकै सबैभन्दा महँगो उत्पादनहरूमध्ये एक मानिएको छ । विश्लेषक गर्मनका अनुसार यसको मूल्य २,००० देखि २,५०० अमेरिकी डलर (अर्थात् करिब २ लाख ६० हजारदेखि ३ लाख ३० हजार नेपाली रुपैयाँ) सम्म पर्न सक्ने अनुमान गरिएको छ । यो मूल्य हालै सार्वजनिक भएको सामसङ ग्यालेक्सी जेड फोल्ड ७ भन्दा पनि महँगो हुने सम्भावना छ ।
एप्पलको प्रवेशले बजारमा तरंग
यद्यपि एप्पलले आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक गरिसकेको छैन, लगातार बाहिरिइरहेका रिपोर्ट र प्रविधि विश्लेषकहरूको भनाइले फोल्डेबल फोन बजारमा एप्पलको प्रवेशले ठूला परिवर्तन ल्याउने संकेत दिइरहेको छ ।
एप्पलप्रेमी र प्रविधि क्षेत्रका अनुगमनकर्ताहरूले एप्पलको फोल्डेबल फोनलाई प्रविधि, डिजाइन र टिकाउपनको दृष्टिले नयाँ अध्यायको रूपमा हेर्ने अनुमान गरिएको छ ।